दार्चुला । दार्चुलाको जिल्ला सभा २०८२ सम्पन्न भएको छ। जिल्ला समन्वय समितिको कार्यालयमा आईतबार (आज) बसेको जिल्ला सभा विभिन्न निर्णय गर्दै सम्पन्न भएको हो ।
जिल्ला सभामा छ वटा कार्यसूची राखिएकोमा आवश्यक निर्णय गरिएको जिल्ला समन्वय समितिका समन्वय अधिकारी गणेशबहादुर पालले बताउनुभयो । सभाबाट जिल्ला समन्वय समितिको चालु आर्थिक वर्षमा कुल बजेट एक करोड ६८ लाख प्राप्त भएकोमा ४३ लाख खर्च हुँन बाँकी रहेको बताइएको छ । आगामी आर्थिक वर्षको लागि एक करोड ६७ लाख बजेट प्रस्तावित गरिएको छ । चालु आर्थिक वर्षमा जिल्ला समन्वय समितिका ११ वटा बैठकले गरेका निर्णय सभाबाट अनुमोदन गरिएको छ ।
दार्चुलामा ब्लड बैंक स्थापनाका लागी रकम संकलन अभियान सञ्चालन गरिएकोमा प्रशंसा गर्दै जिल्ला भित्रका स्थानीय तहले पनि सहयोग गर्ने प्रस्ताव पारित गरिएको छ । व्याँसको वडा नम्बर १ छाङरु, टिंकर जान भारतीय भूमीको प्रयोग गर्नुपर्ने भएकोले बहुयात्रा अनुमति पत्र जिल्ला समन्वय समितिबाट सिफारिस गर्नुपर्ने र प्रमाणिकरणको जम्मेवारी अद्यागमन तथा सीमा प्रशासन कार्यलयलाइ हुँदा नागरिकलाई समस्या भएकोले बहुयात्रा अनुमति सिफारिस पत्र सिफारिस र प्रमाणित गर्नुपर्ने दुबै जिम्मेवारी अद्यागमन तथा सीमा प्रशासन कार्यलयलाई दिने प्रस्ताव समेत पारित गरिएको छ ।
साथै दार्चुला बहुमुखी क्याम्पसलाई साविक जिल्ला विकास समितिको नाममा रहेको १ रोपनी १२ आना २ पैसा २ दाम जमिन प्रदान गर्ने निर्णय पारित गरियो । क्याम्पसले भवन निर्माण गरेर चलनभोग तथा प्रयोग गरिरहेको उक्त जमिन क्याम्पसलाई नै उपलब्ध गराउने प्रकृयाका लागि जिल्ला समन्वय समितिलाई अनुमति प्रदान गर्ने निर्णय जिल्ला सभाबाट पारित भएको पालले बताउनुभयो ।
अगामी आर्थिक वर्षमा सामाजिक सुरक्षा भत्ताको लागि राष्ट्रिय परिचय पत्र अनिवार्य लिनुपर्ने भएकोले नेपाल सरकारलाई सबै स्थानीय तहको केन्द्रमा राष्ट्रिय परिचय पत्र विवरण, संकलन र कार्ड वितरणको लागि व्यवस्था मिलाउन गृहमन्त्रालयलाई अनुरोध गर्ने प्रस्ताव पारित गरिएको समन्वय अधिकारी पालले बताउनुभयो ।
जिल्लासभामा समन्वय प्रमुख, दार्चुलाका सबै पालिका प्रमुख, उपप्रमुख, अध्यक्ष, उपाध्यक्ष लगायत सरोकारवालाहरुको सहभागिता रहेको थियो ।





प्रतिक्रिया