दार्चुला । सुदूरपश्चिम प्रदेश सरकारलाई दिएको समर्थन नागरिक उन्मुक्ति पार्टीले फिर्ता लिएको छ । पार्टीको आज बसेको संसदीय दलको बैठकले प्रदेश सरकारलाई दिएको समर्थन फिर्ता लिने निर्णय गरेको हो । मुख्यमन्त्री कमलबहादुर शाहले उद्योग, पर्यटन, वन तथा वातावरणमन्त्री रामेश्वर चौधरीलाई बिहीबार पदबाट बर्खास्त गर्नुभएको थियो । आफ्नो पार्टीको मन्त्री हटाइएपछि नागरिक उन्मुक्ति पार्टीले सरकारलाई दिएको समर्थन फिर्ता लिएको छ ।
दलको बैठकले सरकारलाई दिएको समर्थन फिर्ता लिएर प्रतिपक्षमा बस्ने निर्णय गरेको नागरिक उन्मुक्ति पार्टीको संसदीय दलका नेता घनश्याम चौधरीले बताउनुभयो । नागरिक उन्मुक्ति पार्टीले सरकारलाई दिएको समर्थन फिर्ता लिए पनि शाह नेतृत्वको सरकारको बहुमत कायमै छ । नेपाली कांग्रेसका १८ र नेकपा (एमाले) का ११ गरी २९ प्रदेश सभा सदस्यको साथ उहाँलाई छ । जम्मा ५३ प्रदेशसभा सदस्य रहेको सुदूरपश्चिम प्रदेशमा बहुमत जुटाउन २७ जनाको समर्थन आवश्यक पर्छ ।
तर समर्थन फिर्ता लिने सन्दर्भमा सुदूरपश्चिम प्रदेशका सांसद विभाजित देखिएका छन्। सुदूरपश्चिम प्रदेश सभामा नाउपाका सात जना सांसद छन्। आजको बैठकमा तीन जना सांसद अनुपस्थित रहेको खुसीराम चौधरीले जानकारी दिनुभयो । सांसदहरू लक्ष्मणकिशोर चौधरी, खुसीराम चौधरी र कैलाश चौधरी समर्थन फिर्ता लिने विपक्षमा छन्।





प्रतिक्रिया