दार्चुला । कञ्चनपुरको दोधारा चाँदनी नगरपालिका–१ स्थित सुक्खा बन्दरगाह निर्माण सुरु भएको छ।
आज नेपाल इन्टरमोडल यातायात विकास समितिका कार्यकारी निर्देशक आशिष गजुरेल र सुक्खा बन्दरगाह निर्माण कम्पनी कम्ट कन्ट्रक्सनका सञ्चालक सुनिल शर्माले संयुक्त रूपमा निर्माण कार्यको शुभारम्भ गर्नुभएको हो।
समितिका कार्यकारी निर्देशक गजुरेलले बन्दरगाह निर्माणस्थलका रुख कटानको काम सम्पन्न भइसकेपछि भारतीय निर्माण कम्पनीलाई काम गर्नका लागि मन्त्रालयमार्फत पत्राचार भइसकेको बताउनुभयो। सोहीअनुसार भारतीय निर्माण कम्पनीले आजदेखि बन्दरगाह निर्माणको प्रारम्भिक काम सुरु गरेको छ।
कार्यकारी निर्देशक गजुरेलका अनुसार सुदूरपश्चिम मात्रै नभएर नेपालकै आर्थिक विकासमा टेवा पुग्नेछ। बन्दरगाह निर्माणपछि तेस्रो मुलुकसँग निर्यातको ढोका खुल्ने उहाँले बताउनुभयो। बन्दरगाह निर्माणका लागि दोधारा चाँदनी नगरपालिका–१ स्थित गौरीशङ्कर सामुदायिक वनमा एक हजार ७०५ रुख कटानी भएका छन्।
भारत सरकारको आर्थिक तथा प्राविधिक सहयोगमा निर्माण हुने सुक्खा बन्दरगाहका लागि नेपाल सरकार र भारत सरकारबिच जुन १, २०२३ मा समझदारीपत्रमा हस्ताक्षर भएको थियो। सोही सम्झौताअनुसार भारतीय पक्षले बन्दरगाह निर्माणका लागि दुई अर्ब ५४ करोड ३१ लख ९९ हजार भारतीय रुपैयाँ लागतमा ठेक्का सम्झौता गरेको छ।
विसं २०६४ मा सरकारले कञ्चनपुरको दोधारा चाँदनीस्थित सुक्खा बन्दरगाह निर्माण गर्ने घोषणाले सुदूरपश्चिमका व्यवसायीले तेस्रो मुलुकसँग व्यापारको ढोका खुल्ने अपेक्षा गरेका थिए। दोधारा चाँदनीमा सुक्खा बन्दरगाह बने सुदूरपश्चिम प्रदेश विकासको कोसेढुङ्गो हुने सपना देखेका सुदूरपश्चिमवासीले १८ वर्षपछि दोधारा चाँदनीमा सुक्खा बन्दरगाह बन्ने सुनिश्चितता पाएका छन्।
बन्दरगाह निर्माणका लागि प्रयोग हुने ४२ दशमलव ३६ हेक्टर क्षेत्रफलमा दुई वटा गोदाम भवन, भन्सार चेक जाँच भवन, क्वारेन्टाइन भवन, इमिग्रेसन भवन, सुरक्षा भवनललगायतका पूर्वाधार निर्माण हुने इन्टर मोडल यातायात विकास समितिले जनाएको छ। नेपालले सुक्खा बन्दरगाहसम्मको छ लेनको पहुँचमार्ग र महाकाली नदीमा चार लेनको पक्की पुल सञ्चालनमा आइसकेको छ। भारत बन्दरगाहसम्मको पहुँचमार्ग निर्माण गरिरहेको छ। सुक्खा बन्दरगाह निर्माणसँगै पश्चिमी नाका सञ्चालनमा आए सुदूरपश्चिम विकासको सम्भावनाको ढोका खुल्ने अपेक्षा गरिएको छ।





प्रतिक्रिया