दार्चुलाबाट गत आर्थिक बर्षमा  २ हजार  ३१६ क्विन्टल जडीबुटी निर्यात

दार्चुला। दार्चुलाबाट गत आर्थिक बर्षमा दुई हजार क्विन्टल बढी जडीबुटी निकासी भएको छ। गत आर्थिक वर्ष २०८१/८२ मा दार्चुलाबाट २ हजार ३ सय १६ क्विन्टल जडीबुटी कैलाली, नेपालगन्ज, काठमाडौँ र बाहिरी मुलुकमा निकासी भएको अपिनाम्पा संरक्षण क्षेत्र कार्यालय दार्चुलाका प्रमुख विनयकुमार झाले बताउनुभयो ।

हिमाली बहुमूल्य जडीबुटीका रूपमा परिचित यार्चागुम्बा र वनलसुन बाहिरी मुलुकमा समेत निर्यात हुने गरेको छ। दार्चुलाको उच्च हिमाली क्षेत्रमा पाइने डेढ दर्जनभन्दा धेरै किसिमका जडीबुटी जिल्लाबाहिर तथा देशबाहिर निकासी हुने गरेको झाले बताउनुभयो। अपिनाम्पा संरक्षण क्षेत्र कार्यालय र डिभिजन वन कार्यालयमार्फत जिल्लाको जडीबुटी निकासी हुने गरेको उहाँले बताउनुभयो ।

अपिनाम्पा संरक्षण क्षेत्र कार्यालय र डिभिजन वन कार्यालयमार्फत झन्डै १५ प्रकारका जडीबुटी हरेक वर्ष निकासी हुने गरेको छ भने बहुमूल्य जडीबुटी यार्चागुम्बा अपिनाम्पा संरक्षण क्षेत्र कार्यालयमार्फत मात्रै निकासी हुने गरेको उहाँले बताउनुभयो ।

दार्चुलाबाट गत आव २०८१/८२ मा एक क्विन्टल ८८.३३७ ग्राम यार्चागुम्बा, तीन क्विन्टल तीन सय ग्राम वनलसुन, ९८ किलोग्राम टिमुर, ३२ क्विन्टल पाषाणभेद, नौ क्विन्टल दालचिनी, १२ क्विन्टल अमला, एक हजार ५ सय ४० क्विन्टल तेजपात, ५ सय ८० क्विन्टल रिट्ठा, ३८ क्विन्टल सेतक चिनी, ४५ क्विन्टल अल्लो, ३२ क्विन्टल रातो च्याउ र २४ क्विन्टल कचुर निकासी भएको डिभिजन वन कार्यालय दार्चुलाका सूचना अधिकारी राजेश पार्कीले जानकारी दिनुभयो ।

हिमाली जडीबुटी पाइने हिसाबले अपिनाम्पा संरक्षण क्षेत्र डिभिजन वनभन्दा ठुलो छ । संरक्षण क्षेत्रभित्र ७० किसिमका जडीबुटीको पहिचान भए पनि हालसम्म ३५ किसिमका जडीबुटीको मात्रै निकासी हुने गरेको उहाँले बताउनुभयो ।

दार्चुलामा करोडौँ मूल्यका जडीबुटी उत्पादन भएर निर्यात भए पनि जडीबुटीको संरक्षणतर्फ भने सरोकारवालाको ध्यान गएको देखिँदैन । प्रत्येक वर्ष सबै किसिमका जडीबुटी सङ्कलनका लागि वन खुला गर्दा हिमाली जडीबुटी लोप हुने अवस्थामा पुगेको जडीबुटी व्यापारी तथा दार्चुला उद्योग वाणिज्य सङ्घका पूर्वअध्यक्ष मङ्गलसिंह ठगुन्नाले बताउनुभयो । जडीबुटी निकासीबापत अपिनाम्पा संरक्षण क्षेत्र कार्यालय र डिभिजन वन कार्यालयले एक करोड ८९ लाख १० हजार ९०९ रुपियाँ राजस्व सङ्कलन गरेका छन् ।

प्रतिक्रिया

Leave a Comment

Your email address will not be published. Required fields are marked *

भर्खरै प्रकाशित

 

घाइते भेट्न केएमसी पुगे गृहमन्त्री गुरुङ

२०८२ चैत्र २०, शुक्रबार १४:२२ गते

ताजा समाचार

लोकप्रिय

सिफारिस

छुटाउनु भयो कि ?