दार्चुला । दार्चुलाको लेकम गाउँपालिकामा सोमबारबाट सञ्चालन भएको राष्ट्रिय परिचय पत्र दर्ता तथा नागरिकता प्रतिलिपी वितरण शिविर सम्पन्न भएको छ । लेकम गाउँपालिकाको आयोजना, व्यवस्थापन तथा आर्थिक सहयोग र जिल्ला प्रशासन कार्यालय दार्चुलाको समन्वय तथा प्राविधिक सहयोगमा गाउँपालिकाका वडा नम्बर ३ बाहेक ५ वटा वडामा सञ्चालन भएको शिविरबाट ६ वटै वडाका १८५ जनाको राष्ट्रिय परिचय पत्र दर्ता गरिएको छ भने १३३ जनाको नागरिकता प्रतिलिपी वितरण गरिएको गाउँपालिका उपाध्यक्ष माधवी जोशीले बताउनुभयो ।
सोमबार गाउँपालिकाको वडा नम्बर ६ उचाकोटबाट सुरु भएको शिविर शुक्रबार (आज) वडा नम्बर ४ खरकडामा सञ्चालन भएको थियो । आज वडा नम्बर ४ खरकडामा गाउँपालिकाका वडा नम्बर ३ र ४ का स्थानीयलाई सेवा प्रदान गरिएको जिल्ला प्रशासन कार्यालय दार्चुलाका सहायक प्रमुख जिल्ला अधिकारी मोहन सिंह धामीले बताउनुभयो ।
पहिलो दिन गाउँपालिकाको वडा नम्बर ६ उचाकोटमा सञ्चालन भएको शिविरबाट २२ जनाको नागरिकता प्रतिलिपी र ३३ जनाको राष्ट्रिय परिचयपत्र दर्ता गरिएको थियो । मंगलबार वडा नम्बर ५ चौपातामा १८ जनाको नागरिकता प्रतिलिपी र ४२ जनाको राष्ट्रिय परिचयपत्र दर्ता गरिएको थियो । बुधबार वडा नम्बर १ सर्मोलीमा सञ्चालन गरिएको शिविरबाट ३९ जनाको राष्ट्रिय परिचयपत्रको विवरण दर्ता र २४ जनाले नागरिकताको प्रतिलिपी वितरण गरिएको थियो । विहिबार वडा नम्बर २ कुणीमा सञ्चालन भएको शिविबाट ४२ जनाको राष्ट्रिय परिचय पत्रको विवरण दर्ता र ५७ जनालाई नागरिकताको प्रतिलिपी प्रदान गरिएको थियो । शुक्रबार (आज) गाउँपालिकाको वडा नम्बर ४ खरकडामा सञ्चालन भएको शिविरमा वडा नम्बर ३ र ४ का २९ जनाको राष्ट्रिय परिचय पत्रको विवरण दर्ता गरिएको र १२ जनाले नागरिकताको प्रतिलिपी वितरण गरिएको सहायक प्रमुख जिल्ला अधिकारी धामीले बताउनुभयो ।
सरकारले चालु आर्थिक बर्षको साउन १ गतेबाट सामाजिक सुरक्षा भत्ता प्राप्त गर्न राष्ट्रिय परिचय पत्र अनिवार्य गरेपछि सेवाग्राहीको समस्यालाई मध्यनजर गर्दै गाउँपालिकाले शिविर सञ्चालनको लागि प्रशासन कार्यालयलाई आग्रह गरेको र सोही अनुसार प्रशासन कार्यालयको टोली गाउँपालिकामा आएर वडाहरूबाटै राष्ट्रिय परिचय पत्र दर्ता गरिएको लेकम गाउँपालिकाका एमआईएस अपरेटर प्रकाशराज विष्टले बताउनुभयो । बृद्धाअवस्थामा राष्ट्रिय परिचयपत्र बनाउनुपरेपछि बृद्धबृद्धालाई सास्ती भएको छ । लेकम गाउँपालिकाको जस्तै अन्य स्थानीय तहमा समेत पालिकाबाटै सेवा दिइए केही राहत हुने जिल्लाभरीका सेवाग्राहीको भनाई छ ।
विगत ११ बर्षदेखि पत्रकारितामा सक्रिय लोकदर्पण मिडियाका संस्थापक/सञ्चालक लोकेन्द्र प्रसाद जोशी सामाजिक, आर्थिक, राजनीतिक लगायत समसामयिक विभिन्न विधामा कलम चलाउछन् ।




