सुर्मा भवानीको ‘बिरे जात्रा’ जारीः अपिहिमाल गाउँपालिकामा २३ गतेसम्म सार्वजनिक विदा

दार्चुला । दार्चुलाको अपिहिमाल गाउँपालिकामा सुर्मा भवानीको ‘बिरे जात्रा’ जारी छ । सुर्मासरोवर जात्राको अवसरमा गाउँपालिका भरी तीन दिन सार्वजनिक विदा दिइएको छ।

अपिहिमाल गाउँपालिकाको वडा नम्बर ३ मा अवस्थित क्षेत्ती, घाँजिरदेखी सुर्मासरोबरसम्म लाग्ने सुर्मा भवानीको ‘बिरे जात्रा’को अवसरमा गाउँपालिका मातहतका सम्पूर्ण कार्यालयहरुमा साउन २१, २२ र २३ गते सार्वजनिक विदा दिएकोे गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत इन्द्र बहादुर रावलले बताउनुभयो । जिल्लाकै सबैभन्दा ठुलो जात्राका रूपमा मनाइने सुर्माभवानीको ‘बिरे जात्रा’ साउन १८ गतेबाट सुरु भएको छ ।

धार्मिक मान्यता अनुसार औँसीदेखि जात्रा मनाउन जाने बिरेहरू छुट्टिएर बसेका थिए । औँसीदेखि सुरु भएपनि पर्वको रुपमा यो वर्षको ‘बिरे जात्रा’ साउन १८ गतेदेखि साउन २४ गतेसम्म भव्यताका साथ मनाइने अपिहिमाल गाउँपालिका वडा नम्बर ३ का वडा अध्यक्ष गगन सिंह कार्कीले जानकारी दिनुभयो ।

जात्राको विशेषता र मान्यता अनुसार जात्रामा सहभागी हुने पुरुष मानिस औँसीदेखि नै मासुजन्य पदार्थ छोडेर घरपरिवारको सम्पर्कबाट समेत छुट्टिएर देउघरमा बस्ने गरेको उहाँले बताउनुभयो । यो जात्रा अपिहिमाल गाउँपालिका–३ क्षेत्ती घाजिरबाट बझाङको सीमा क्षेत्र सुर्मा सरोवरसम्म पुगेर मनाइने गरिन्छ । उच्च हिमशृङ्खलाको बिचमा अवस्थित सरोवर धार्मिक पर्यटकीय तथा सांस्कृतिक दृष्टिकोणले महत्तपूर्ण छ ।

सुर्माभवानीलाई बझाङका सिकारीले लखेट्दा सुर्मा तालमा विलय भएको धार्मिक मान्यता छ । सोही कारण सुर्मातालमा अपिहिमालको खण्डेश्वरीबाट जाने तीर्थालुले सरोवरमा पूजा गरेपछि मात्रै बझाङबाट आउने तीर्थालुले पूजा गर्ने चलन रहेको छ ।

प्रतिक्रिया

Leave a Comment

Your email address will not be published. Required fields are marked *

भर्खरै प्रकाशित

 

घाइते भेट्न केएमसी पुगे गृहमन्त्री गुरुङ

२०८२ चैत्र २०, शुक्रबार १४:२२ गते

ताजा समाचार

लोकप्रिय

सिफारिस

छुटाउनु भयो कि ?