दार्चुला । प्रधानमन्त्री केपी शर्मा ओलीले तुर्कमेनिस्तानको अवाजा शहरमा सम्पन्न भूपरिवेष्ठित विकासशील राष्ट्रहरूको तेस्रो संयुक्त राष्ट्रसङ्घीय सम्मेलनमा नेपालको उच्चस्तरीय सहभागिताले यी देशप्रति नेपालको गम्भीर चासो प्रतिविम्बित भएको संसद्लाई जानकारी गराउनुभएको छ ।
प्रतिनिधिसभाको आजको बैठकमा समय लिएर प्रधानमन्त्री ओलीले यही साउन २० देखि २३ गतेसम्म भएको सम्मेलनका लागि आफ्नो नेतृत्वको नेपाली प्रतिनिधिमण्डलको भ्रमणबारे जानकारी गराउनुभएको हो ।
‘अन्तर्राष्ट्रिय मञ्चमा नेपालले भूपरिवेष्ठित विकासोन्मुख राष्ट्रहरूको हित प्रवर्द्धनका लागि महसूस हुने गरी आवाज उठाएको छ’, प्रधानमन्त्री ओलीले भन्नुभयो, ‘सम्मेलनका मुख्यसत्र र विषयगत गोलमेच कार्यक्रममा भएको नेपालको सहभागिता र सम्बोधनले नेपालको अन्तर्राष्ट्रियस्तरमा छविमा बढोत्तरी हुनुका साथै नेपालले निर्वाह गर्नसक्ने नेतृत्वदायी भूमिकाको सन्देश प्रवाह भएको छ ।’
उहाँले सम्मेलनका क्रममा औपचारिक र अनौपचारिक सम्बोधन तथा द्विपक्षीय भेटवार्ताबाट मित्र राष्ट्रहरूसँगको सम्बन्ध थप सुदृढ हुनुका साथै नेपाल र संयुक्त राष्ट्रसङ्घबीचको सम्बन्ध र सहकार्य थप मजबुत बनाउन मद्दत पुग्ने अपेक्षासमेत आफूले गरेको बताउनुभयो ।
सम्मेलन पारवाहनलगायतका चुनौतीको सामनाका उपायहरू खोज्न र ‘अवाजा प्रोग्राम अफ एक्सन’ पारित गर्न सफल रहेको बताउँदै प्रधानमन्त्री ओलीले भूपरिवेष्ठित विकासशील देशहरूका विकासको आकाङ्क्षा पूरा गर्ने नयाँ र बलियो प्रतिबद्धता गरेको उल्लेख गर्नुभयाे ।
सम्मेलनमा राष्ट्रप्रमुख तथा सरकारप्रमुख, संयुक्त राष्ट्रसङ्घका महासचिव, संयुक्त राष्ट्रसङ्घको ७९औं महासभाका अध्यक्षहरूसहित झन्डै १ सय देशको प्रतिनिधित्व थियो । प्रधानमन्त्री ओलीले सम्मेलनको ‘प्लेनरी’ मा आफूले अतिकम विकसित देशहरूको समूहको अध्यक्ष तथा नेपालका तर्फबाट सम्बोधन गरेको र अतिकम विकसित समूहको अध्यक्षको हैसियतमा सम्बोधन गर्दै भूपरिवेष्ठित विकासशील देशहरूले सामना गर्दै आएका समस्याहरू उठाएको अवगत गराउनुभयो ।
उहाँले आफ्नो मन्तव्यलाई यी देशमा पूर्वाधार अभाव, बजारको सीमितता, प्राथमिक उत्पादनमा निर्भर निर्यात व्यापार, उच्च पारवहन लागत, न्यून वैदेशिक लगानी, जलवायु परिवर्तनका प्रतिकूल असरलगायत समस्याहरूमा केन्द्रित गरेको बताउनुभयो ।
‘यी समस्याहरूको समाधानका लागि भूपरिवेष्ठित विकासशील देशहरूबीच आपसी सहयोग र साझेदारी विस्तार गर्नुपर्ने र विकास साझेदारहरूले थप सहयोग गर्नुपर्ने विषयमा जोड दिएको छु’, प्रधानमन्त्री ओलीले भन्नुभयो, ‘देशको प्रधानमन्त्रीको हैसियतमा सम्बोधन गर्दा स्मार्ट पूर्वाधारको निर्माण, राजमार्ग र रेल्वे विस्तार, व्यापारिक मार्ग निर्माण र हरित ऊर्जा करिडोर निर्माणमार्फत सीमापार सम्पर्क (क्रस–बोर्डर कनेक्टिभिटी) विस्तारमा नेपालले गरिरहेको कामको चर्चा गरेँ । साथै यसतर्फको हाम्रो यात्रामा थप सहयोग गर्न छिमेकी देशहरू, विकास साझेदार तथा दातृ निकायहरूलाई आह्वानसमेत गरेको छु ।’
उहाँले सम्मेलनमा आफूले सहअध्यक्षता गरेको ‘भूपरिवेष्ठित विकासशील देशहरूका लागि व्यापार, व्यापार सहजीकरण र क्षेत्रीय आबद्धताको परिवर्तनकारी सम्भावनाको सदुपयोग’ शीर्षकको गोलमेचको उद्घाटन मन्तव्यमा आफूले समुद्रसम्म सीधा सम्पर्क नभएका कारण भूपरिवेष्ठित विकासशील देशहरूले उच्च पारवहन लागतसहितका विविध समस्याहरू भोग्नु परिरहेको विषय उठाएको बताउनुभयो । ती देशमा बसोबास गर्ने झन्डै ६० करोड मानिसहरूको जीवनस्तरमा उल्लेख्य सुधार गर्न प्रभावकारी र ठोस् कदम चाल्नुपर्ने विषयमा जोड दिएको पनि उहाँले सदनलाई जानकारी दिनुभयो ।
‘भूपरिवेष्ठित विकासोन्मुख देशहरूका समृद्धिका संवाहकका रूपमा संरचनागत परिवर्तन, विविधिकरण र विज्ञान, प्रविधि तथा नवप्रवर्तन’ विषयको पहिलो उच्चस्तरीय विषयगत गोलमेचलाई सम्बोधन गर्दै आफूले भूपरिवेष्ठित विकासशील देशहरूको अर्थतन्त्रको संरचनात्मक रूपान्तरणका लागि उत्पादकत्व बढाउन, स्रोतसाधनको परिचालन गर्न, रोजगारीका अवसरहरू सुनिश्चित गर्न र विश्वव्यापी मूल्य शृङ्खलामा आबद्धता बढाउन विज्ञान, प्रविधि र नवप्रवर्तनको प्रयोग गर्नुपर्ने विषयमा जोड दिएको प्रधानमन्त्री ओलीले संसद्लाई जानकारी गराउनुभयो ।
प्रधानमन्त्री ओलीले ‘भूपरिवेष्ठित विकासशील देशहरूको अनुकूलन क्षमता अभिवृद्धि, सहनशीलता सबलीकरण र वातावरण परिवर्तन तथा प्राकृतिक विपत्तिको सम्बोधन’ सम्बन्धी राउन्ड टेबलको आफ्नाे सम्बोधनमा जलवायु वित्तमा भूपरिवेष्ठित विकासशील देशहरूको पहुँच बढाउन, प्रभावकारी अनुकूलनका उपायहरू विकास गर्न, नोक्सान र क्षति कोष (लस एन्ड ड्यामेज फन्ड) बाट लाभ उठाउन क्षमता विकास र प्रविधि हस्तान्तरणको आवश्यकता रहेकामा जोड दिएको उल्लेख गर्नुभयो ।
यस्तै उच्चस्तरीय विषयगत गोलमेच ‘भूपरिवेष्ठित विकासशील देशहरूका लागि दिगो संरचना निर्माण, सम्पर्क सबलीकरण र सहज परिवहन प्रणाली प्रवर्द्धन’ लाई सम्बोधन गर्दै आफूले हाम्राजस्ता देशहरूको दिगो विकासका लागि ट्रान्जिट देश, विकास साझेदार र अन्तर्राष्ट्रिय समुदायबीचको साझेदारी महत्त्वपूर्ण हुने र यसका लागि नवीन वित्तीय संयन्त्र, प्रविधि हस्तान्तरण तथा हाम्रा विशिष्ट आवश्यकता अनुरूपका क्षमता विकासका कार्यहरूमा सहयोग गर्नुपर्नेमा जोड दिएको प्रधानमन्त्री ओलीले जानकारी गराउनुभयो ।
यस्तै ‘सुदृढ व्यापार तथा यातायात सम्पर्कमार्फत क्षेत्रीय सुरक्षा र सहयोगको प्रवर्द्धन’ ‘पग्लँदो हिमताल र त्यसभन्दा पनि बढी : भूपरिवेष्ठित विकासशील देशहरूलाई असर गर्ने जलवायु चुनौतीहरूको समाधान’ जस्ता विषयक कार्यक्रममा पनि आफूले प्रमुख वक्ताका रूपमा सम्बोधन गरेको उहाँले जानकारी गराउनुभयो । भ्रमणका अवसरमा प्रधानमन्त्री ओलीले तुर्कमेनिस्तानका राष्ट्रपति सेरदार बेर्द–मुखमेडोभसँग भेटवार्ता हुनुका साथै अन्य द्विपक्षीय भेटवार्ता भएको जानकारी दिनुभयाे ।





प्रतिक्रिया