दार्चुला । दलित अभियन्ताका रुपमा चिनिने खगेन्द्र सुनारले सामाजिक सञ्जालमार्फत सुदूरपश्चिम प्रदेशका भौतिक पूर्वाधार विकास मन्त्री सुरेन्द्रबहादुर पालमाथि संगीन/झुटो आरोप लगाएका छन् । तर, उनको आरोप निराधार रहेको प्रहरीले जनाएको छ ।
फेसबुकमा सुनारले मन्त्री पालले बैतडीमा एक दलित बालकलाई गाडीले किचेर मारेको तथा मृतककी आमालाई बलात्कारको धम्की दिएको झुट फैलाएका छन् । हिँड्ने साइतमा दलितले बाटो काटेको निहुमा किचेर हत्या गरेको उनको दाबी छ । उनले लखेका छन्, ‘सुदूरपश्चिमका भौतिक मन्त्री सुरेन्द्र बहादुर पालले हिँड्ने साइतमा दलितले बाटो काटेको भन्दै गाडीले किचेर बैतडीमा एक दलित बच्चा किरण कोलीको हत्या गरेको छ । मन्त्रीको गाडी छोएको भन्दै ड्राइभरले हकारेर लखेटेका थिए, ‘भाग्दै गरेको बच्चालाई यो डुमलाई ठोक भन्दै रक्सीले मातेका मन्त्रीले गाडी हाँकेर किचेका थिए । गाडी छोराले चलाएको थियो । हत्या सार्वजनिक गरे बलात्कार गरेर मार्ने पीडित एकल महिलालाई धम्की दिएका छन् । घटना मिलाउन ५ लाख पीडितको खातामा जबर्जस्ति हालिदिएका छन् । प्रहरीले मुद्दा लिन मानेको छैन ।’ उनकाे झुटो स्टाटसलाई करिब ३ हजारले शेयर गरेका छन् भने दुई हजार ६ सयभन्दा बढी कमेन्ट आएका छन् ।
तर, सुनारले वर्णन गरेजस्तो घटना बैतडीमा नभएको प्रहरीले जनाएको छ । प्रहरीका अनुसार उनले हत्या भएको दाबी गरेका व्यक्तिको करेन्ट लागेर मृत्यु भएका थियो । निराधार प्रचार गरेको भन्दै प्रहरीले आपत्ति जनाएको छ ।
‘डिलासैनी गाउँपालिका–३ का १३ वर्षीय किरण कोली साउन १७ गते डिन्नीगाडमा बालुवा सङ्कलन गर्ने क्रममा विद्युत् पोल छोएर करेन्ट लाग्दा गम्भीर घाइते भएका थिए । उपचारका क्रममा गोकुलेश्वरमा उनको मृत्यु भएको हो । कानूनी प्रक्रिया पूरा भएपछि मृतकका बाजेले १८ साउनमा शव बुझेका थिए’, सुदूरपश्चिम प्रदेश प्रहरी कार्यालयका प्रवक्ता एसएसपी प्रकाश रानामा भाट भन्नुभयो, ‘अहिले आएको जस्तो उनलाई हत्या गरिएको भन्ने होइन ।’
मृतक परिवारको खातामा पाँच लाख रुपैयाँ जम्मा भएको साँचो हो । तर सो रकम डिलासैनी गाउँपालिका-३ का वडाध्यक्ष रघुवीर बोहराले स्थानीयबाट सङ्कलन गरी मृतककी आमाको खातामा जम्मा गरेका थिए । ‘उनको बुवाको पनि केही वर्ष पहिले मृत्यु भइसकेको थियो । बच्चा पनि बितेपछि हामीले ५ लाख रुपैयाँ उठाएर दिएका हौँ’, वडाध्यक्ष बोहराले भन्नुभयो, ‘उसलाई हत्या गरिएको भन्ने कुरा गलत हो । उनको करेन्ट लागेर मृत्यु भएको हो ।’
यसैबीच, सामाजिक सञ्जालमा हत्या जस्तो गम्भीर आरोप लगाउँदै स्ट्याटस हालेर चरित्र हत्या गर्न खोजेको भन्दै मन्त्री पालको सचिवालयले आपत्ति जनाएको छ । सचिवालयले सुनारविरुद्ध कानुनी कारबाहीको तयारी भइरहेको जानकारी दिएको छ ।
‘सामाजिक तथा जातीय सद्भावलाई खलबल्याउने उद्देश्यले यस प्रकारका आधारहीन आरोप लगाइएको हाम्रो ठहर छ । यस्ता भ्रामक र आधारहीन स्ट्याटसको मन्त्री ज्युको सचिवालय खण्डन गर्दछ’, मन्त्रीका स्वकीय सचिव रामेश बहादुर बोहराले जारी गरेको विज्ञप्तिमा भनिएको छ, ‘निजका विरुद्ध नेपाल प्रहरीले साइबर सेलमा उजुरी दर्ता गरी कानुनी प्रक्रियामा अघि बढ्ने जानकारी गराउँदै यस्ता स्ट्याटसको विश्वास नगर्न सम्पूर्णमा अनुरोध गर्दछौँ ।’
सचिवालयका अनुसार असार २८ गतेदेखि यता मन्त्री पाल धनगढी र काठमाडाैं रहेका छन् । वडाध्यक्ष बाेहराले पनि बालककाे मृत्यु भएकाे बेला मन्त्री पाल जिल्लामा उपस्थित नरहेकाे पुष्टि गरे । तर खगेन्द्र सुनारले झुट फैलाएर मन्त्रीको चरित्रहत्या गरेको उहाँको भनाइ छ ।





प्रतिक्रिया