दार्चुला । दार्चुलाको तेर्छालेक पहिरोमा एउटा जिप फसेको छ । उक्त जिपमा भएका यात्रु सकुसल रहेको जिल्ला प्रहरी कार्यालय दार्चुलाले छ । खलंगाबाट गोकुलेश्वरतर्फ जादै गरेको सुप प्र ०१ ००१ ज ११८४ नम्बर को जिप पहिरोमा फसेको मालिकार्जुन प्रहरी चौकीले जनाएको छ ।
जिपमा दुई जना मात्रै यात्रु रहेका थिए, यात्रु जिप छोडेर सुरक्षित स्थानमा गइसकेका छन्, मालिकार्जुन प्रहरी चौकीका बरिस्ठ हवल्दार सुरेश चन्दले भन्नुभयो, जिपको अगाडिको चक्काको भाग पुरिएर जिप फसेको छ । अहिले जेसिबी मेसिन र प्रहरीले जिपको उद्धारको प्रयास गरिरहेको उहाँले बताउनुभयो । माथिबाट पहिरो निरन्तर खसिरहेको छ, दुई वटा मेसिन भएर पनि पहिरो नरोकिएको कारण सडकमा काम गर्न सकिएको छैन् । निरन्तरको वर्षाका कारण जिप उद्धारमा समेत समस्या भएको उहाँको भनाइ छ । पहिरो पन्छाएर जिप निकाल्ने प्रयास गरेपनि अहिलेसम्म नसकिएको प्रहरीले बताएको छ । वर्षा र पहिरो नरोकिएसम्म सडक खुलाउन सकिने अवस्था छैन् ।
सडकमाथिबाट पहिरो आएपछि महाकाली लोकमार्ग अन्तरगत गोकुलेश्वर–खलंगा सडकखण्ड अवरुद्ध भएको छ । बर्षाको कारण मालिकार्जुन गाउँपालिका–३ तेर्छालेकमा सडक माथिबाट पहिरो खस्दा उक्त सडक खण्ड अवरुद्ध भएको हो । तेर्छालेकमा पटकपटक सडक अवरुद्ध हुँदा यात्रुले सास्ती भोग्नुपरेको छ ।





प्रतिक्रिया