दार्चुला । दार्चुलाको शैल्यशिखर नगरपालिका-९ गोकुलेश्वर बजारबाट मानसिक सन्तुलन गुमाएकी एक महिलाको प्रहरीले उद्धार गरेको छ । प्रहरी निरीक्षक किशोरसिंह ऐरीको समन्वय तथा प्रहरी सहायक निरीक्षक गोपाल द्वालको अग्रसरतामा बेवारिसे अवस्थामा फेला परेकी अन्दाजी २७-२८ वर्षकी महिलाको उद्धार गरिएको हो ।
दुई महिना पहिले देखी गोकुलेश्वर बजार क्षेत्रमा घुमिरहेकी महिलाले शरीरका लुगा फालेर नाङ्गै हिड्ने, मानिसहरूलाई ढुंगा हान्ने जस्ता अस्वभाविक गतिविधि गर्न थालेपछि उद्धार गरिएको प्रहरी सहायक निरीक्षक द्वालले बताउनुभयो । मानसिक अवस्था ठिक नभएकी महिलाको उद्धारका लागि शैल्यशिखर नगरपालिका र डिलाशैनी गाउँपालिकालाई अनुरोध गरेपनि खासै चासो नराखेपछि प्रहरीले उद्धार गरेको तर अहिलेसम्म कोही आफन्त पनि सम्पर्कमा नआएको उहाँले बताउनुभयो । हिजो मात्रै ढुंगा प्रहार गरेर एउटा बच्चा टाउको फुटाइदियो, बच्चाका आफन्त न्यायका लागि प्रहरी चौकी आए तर जिम्मेवारी लिने मान्छे नभएपछि समस्या भएको छ । बजार क्षेत्रमा अस्वभाविक गतिविधि गर्ने र कपडा फालेर नाङ्गै हिड्न थालेपछि महिला प्रहरी बिन्दु कुमारी साउँदले कपडा लगाइदिएर उद्धार गरिएको प्रहरी सहायक निरीक्षक गोपाल द्वालले बताउनुभयो ।
उद्धार गरिएकी महिलाका आफन्त कोही भए प्रहरीको सम्पर्कमा आएर जिम्मा लिन अनुरोध गरिएको छ । कोही सम्पर्कमा नआए उद्धार गरिएकी बेवारिसे महिलालाई बजार व्यवस्थापन समिति, युवा समाजसेवी र अन्य सहयोगीको सहयोगमा मानव सेवा आश्रम धनगढी पठाउने प्रयास भइरहेको उहाँले बताउनुभयो ।





प्रतिक्रिया