दार्चुला । बैतडीको पुर्चाैडीमा पहिरोले एक घर पुरिएको छ ।
पुर्चौंडी नगरपालिका वडा नम्बर ४ चनकेल्लीका हिमालय बोहराको घर शुक्रबार राति पहिरोले पुरिएको जिल्ला प्रहरी कार्यालय बैतडीका प्रहरी निरीक्षक तथा सूचना अधिकारी बल्देव बडूले बताउनुभयो ।
अविरल बर्षासँगै शुक्रबार राति १२ बजेतिर घरमाथिबाट खसेको पहिराले बोहराको तीन तले ९ कोठाको घर पूर्ण रुपमा क्षति भएको पुर्चाैडीबाट पत्रकार हरि साउँदले जानकारी दिनुभयो ।
पहिरोका खस्न लागेको थाहा भएपछि घरका मानिस बाहिर निस्केकाले मानवीय क्षति नभएको उहाँले बताउनुभयो ।
पहिरोका कारण बोहराको गोठमा बाँधेका एक भैंसी, एक पाडो र एक खसी भने पहिरोमा पुरिएका प्रहरी निरीक्षक बडूले बताउनुभयो । यस्तै घरभित्रका सुन चाँदीका गरगहना, अन्नपात, लत्ताकपडा लगायत सबै सामान पुरिएको साउँदले बताउनुभयो।
प्रहरी र स्थानीयहरुले पहिरो पन्छ्याउने काम गरिरहेका छन्। पहिरोले घर पुरिँदा भएको क्षतिको विस्तृत विवरण भने आउन बाँकी रहेको छ ।
घर पहिरोले पुरेपछि बोहराको ११ जनाको परिवार अहिले छिमेकी मोतीराम बोहराको घरमा बसीरहेका प्रहरी निरीक्षक बडूले बताउनुभयो ।




