दार्चुला । दार्चुलाबाट निर्वाचित प्रतिनिधिसभा सदस्य तथा पूर्वमन्त्री दिलेन्द्र प्रसाद बडूले आइतबार (आज) दार्चुला सदरमुकाम खलंगामा निर्माणाधीन कभर्डहल र जिल्ला अस्पताल भवनको अनुगमन गर्नुभएको छ।
खलंगास्थित खुला मञ्चमा निर्माण भइरहेको कभर्डहलको अनुगमन गर्दै सांसद बडूले निर्माण कम्पनीलाई तोकिएको समयसीमाभित्र गुणस्तरीय काम सम्पन्न गर्न निर्देशन दिनुभएको छ। २०७० सालमा महाकाली नदीमा आएको बाढीले खलंगामा रहेको एकमात्र कभर्डहल र खेलमैदान बगाएको थियो। १२ वर्षपछि पुनः नयाँ कभर्डहल निर्माण कार्य सुरु भएको हो। कभर्डहल निर्माणका लागि संसदीय क्षेत्र पूर्वाधार विकास कार्यक्रमअन्तर्गत एक करोड र राष्ट्रिय खेलकुद परिषद्को एक करोड गरी कुल दुई करोड रुपैयाँ विनियोजन भएको छ। हाललाई करिब एक करोड ८४ लाख रुपैयाँमा निर्माण कार्य भइरहेको छ भने बाँकी संरचना आगामी वर्ष थप बजेट प्राप्त भएपछि निर्माण अघि बढाइने जिल्ला खेलकुद विकास समिति दार्चुलाले जनाएको छ।
यस्तै सांसद बडूले जिल्ला अस्पताल दार्चुलामा हाल सञ्चालनमा रहेका सेवाबारे मेसु डा. रबिन्द्र भट्टराईसँग जानकारी लिनुभएको छ । सांसद बडूले अस्पताल प्रदेश सरकार मातहत रहेपनि संघीय सरकारमार्फत आवश्यक उपकरण उपलब्ध गराउन सकिने प्रतिबद्धता जनाउनुभयो । यससँगै निर्माणाधीन अस्पताल भवनको पनि अनुगमन गर्दै बडूले निर्माणमा भइरहेको ढिलासुस्तीबारे सघन शहरी विकास कार्यालय डोटीका इञ्जिनियर रामआशिष दाससँग जानकारी लिनुभएको उहाँको सचिवालयले जनाएको छ । भवन निर्माणको म्याद २०८२ साल चैत्रसम्म थप भएको कार्यालयले जानकारी दिएको छ ।
सांसद बडूले अस्पतालजस्तो संवेदनशील संरचना समयमै सम्पन्न गर्न प्राथमिकतामा राखी गुणस्तरीय ढंगले निर्माण पूरा गर्न आवश्यक निर्देशन दिनुभयो । अनुगमन टोलीमा नेपाली कांग्रेस जिल्ला कार्यसमिति सभापति ललिल सिंह बोहरा, जिल्ला खेलकुद विकास समितिका अध्यक्ष मानसिंह बुढाथोकी, भूमि आयोग दार्चुलाका जिल्ला अध्यक्ष लाल सिंह धामी, महाकाली नगरपालिकाका पूर्व नगरप्रमुख हंशराज भट्टसहित नेता, कार्यकर्ता र स्थानीय प्रतिनिधिहरूको उपस्थिति रहेको थियो।





प्रतिक्रिया