दार्चुला । दार्चुला जिल्लाको लेकम गाउँपालिका जोड्ने प्रमुख सडकखण्ड गोकुलेश्वर–रिठाचौपाता सडक आइतबार दिउँसो खसेको पहिरोका कारण अवरुद्ध भएको छ ।
लेकम गाउँपालिका–६ श्रीपुरस्थित उचाकोटमा पहिरो खसेपछि सडक सम्पूर्ण रूपमा अवरुद्ध भएको वडा सदस्य चन्चल खत्रीले जानकारी दिनुभयो ।
पहिरोमा स्थानीय गेडे मिश्रका चराउन लगिएका दुईवटा बाख्रा पनि पुरिएको वडा सदस्य खत्रीले बताउनुभयो । स्थानीय र सुरक्षाकर्मीको सहयोगमा पहिरोमा पुरिएको एक बाख्रा जिवितै निकालिएको छ भने अर्को बाख्रा फेला नपरेको इलाका प्रहरी चौकी रिठाचौपाताका प्रहरी जवान पदम जैसीले बताउनुभयो ।
वडा सदस्य खत्रीका अनुसार सडक अबरुद्ध हुँदा विद्यार्थी, बिरामी तथा सर्वसाधारण आवतजावतमा समस्यामा परेका छन् । विशेषतः लेकम गाउँपालिका–५ स्थित लटिनाथ माध्यमिक विद्यालय, रिठाचौपातामा सञ्चालित प्राविधिक शिक्षा तथा व्यवसायिक तालिम परिषद् (CTEVT) को परीक्षा दिइरहेका विद्यार्थीहरूलाई कठिनाइ भएको छ ।
सडक सञ्चालनका लागि तत्काल पहिरो पन्छ्याउन सम्बन्धित निकायसँग आग्रह गरिएको वडा सदस्य खत्रीले जानकारी दिनुभयो ।





प्रतिक्रिया