काठमाडौं। प्रधानमन्त्री केपी शर्मा ओलीले जेन–जी पुस्ताले आह्वान गरेको आजको प्रदर्शनका क्रममा भएको दुःखद् घटनाप्रति गहिरो दुःख व्यक्त गर्नुभएको छ। प्रदर्शनका क्रममा विभिन्न स्वार्थ केन्द्रबाट भएको घुसपैठका कारण उत्पन्न परिस्थितिमा नागरिकले ज्यान गुमाउनुपरेको भन्दै उनले यसलाई ‘अत्यन्तै मर्माहत बनाउने घटना’ भन्नुभएको छ।
प्रधानमन्त्री ओलीले सरकार जेन–जी पुस्ताको मागप्रति संवेदनशील रहेको स्पष्ट पार्दै भन्नुभयो, “हामी मागलाई सुन्दै थियौं, तर घुसपैठीयाहरुले संवैधानिक संस्थाहरुका कार्यालयमा तोडफोड र आगजनी गरेपछि राज्यको सम्पत्ति जोगाउन बाध्य भएर सरकार कारबाहीमा उत्रियो।” उहाँका अनुसार प्रदर्शनका आयोजक स्वयंले प्रदर्शन सफल भएको भन्दै आह्वान फिर्ता गरिसकेपछि मात्र तोडफोड र आगजनी गर्ने गतिविधि भएका थिए ।
प्रधानमन्त्री ओलीले सामाजिक सञ्जालसम्बन्धी विवादमा सरकारको कुनै पनि बेला सामाजिक सञ्जाल बन्द गर्ने नीति नरहेको दोहोर्याउनुभयो । उहाँले सर्वोच्च अदालतको आदेशअनुसार दर्ता र सूचिकरणपछि मात्र सञ्चालन गर्न सकिने व्यवस्था कार्यान्वयनमा आएको बताउँदै भन्नुभयो, “हामी रोक्ने पक्षमा होइनौं, व्यवस्थित गर्ने पक्षमा हौं । सूचिकरण हुनासाथ सामाजिक सञ्जाल सञ्चालन हुनेछ ।”
आजको घटनामा ज्यान गुमाएका नागरिकप्रति श्रद्धाञ्जली अर्पण गर्दै उहाँले मृतक परिवारलाई उचित राहत र घाइतेको निःशुल्क उपचारको व्यवस्था हुने घोषणा गर्नुभयो। साथै, सम्पूर्ण घटनाक्रम, क्षति र कारणको छानबिन गरी आगामी दिनमा यस्ता दुर्घटना रोक्न सिफारिससहित १५ दिनभित्र प्रतिवेदन पेस गर्ने गरी छानबिन समिति गठन गर्ने विश्वास दिलाउनुभयो।
प्रधानमन्त्रीको वक्तव्य
आदरणीय दाजुभाइ तथा दिदीबहिनीहरु,
जेन–जी पुस्ताले आज आह्वान गरेको प्रदर्शनका क्रममा भएको दुःखद् घटनाले मलाई मर्माहत बनाएको छ । हाम्रा छोराछोरी पुस्ताले आफ्ना माग शान्तिपूर्ण रुपमा राख्नेमा हामी आश्वस्त रहेकामा प्रदर्शनमा विभिन्न स्वार्थ केन्द्रबाट भएको घुसपैठका कारण उत्पन्न परिस्थितिले नागरिकको ज्यान जाने दुःखद् परिस्थिति उत्पन्न भयो । जेन–जी पुस्ताले राखेको मागप्रति सरकार नकारात्मक थिएन । हामी जेन–जी पुस्ताको मागलाई सुनिरहेका थियौं । तर प्रदर्शनमा भएको घुसपैठले हाम्रा संवैधानिक संस्थाहरुका कार्यालयहरुमा तोडफोड र आगजनी गरी क्षति पुर्याउने घटनाहरु भए र ती संस्थाका संरचनाहरु जोगाउने प्रयास गर्दा ज्यान जाने अप्रिय स्थिति उत्पन्न भयो । प्रदर्शनका आयोजक स्वयंले प्रदर्शनमा घुसपैठ भएको थाहा पाएर आजको प्रदर्शन सफल भएको र ढिलो नगरी सबैलाई घर फर्कन आह्वान गरिसकेपछि घुसपैठियाहरुले तोडफोड र आगजनी गरे । यसबाट सरकारले राज्यको सम्पत्ति जोगाउन प्रयास गर्नु पर्ने स्थिति उत्पन्न भयो ।
सरकारले सामाजिक सञ्जालमा हुने अवाञ्छित कार्यबाट नागरिकलाई जोगाउन विगत एक वर्ष अघिदेखि नै यसलाई नियमन गर्ने प्रयोजनका लागि सम्बन्धित कम्पनीहरुलाई नेपालमा सूचिकरण गर्न पटक पटक आग्रह गर्दै आएको थियो । कतिपय प्लेटफर्महरुले सरकारको आग्रह अनुरुप नेपालमा दर्ता र सूचिकरण गरे पनि केहीले पटक पटकको आग्रहलाई बेवास्ता गर्दै आएको परिस्थितिमा सम्मानित सर्वोच्च अदालतले सामाजिक सञ्जाललाई अनुगमन गर्न सकिनेगरी दर्ता र सूचिकरण गरेर मात्र सञ्चालन गर्न सरकारका नाममा निर्देशनात्मक आदेश दिएको थियो ।
सरकारले सामाजिक सञ्जाललाई बन्द गर्ने कुनै नीति लिएको थिएन र छैन । अदालतको आदेश बमोजिम अन्तिम पटक सूचिकरणका लागि गत हप्ता सरकारद्वारा गरिएको आह्वानको समेत बेवास्ता भएपछि सूचिकरण हुनासाथ सञ्चालन हुने गरी त्यसलाई निस्कृय गरिएको थियो । बीसौं वर्षदेखि सामाजिक सञ्जाल प्रयोग गर्दै आएको हाम्रो नयाँ पुस्तालाई पक्कै पनि यसले असर पारेको थियो । राज्यको कानुन र अदालतको आदेश बमोजिम सामाजिक सञ्जाललाई दर्ता र सूचिकरण गरी व्यवस्थित रुपमा चलाउने हाम्रो प्रयासका सम्बन्धमा पर्याप्त जानकारीको अभाव र हाम्रो जेन–जी पुस्ताको सोचबीच केही अस्पष्टताले आजको अवस्था सिर्जना भयो । सरकार सामाजिक सञ्जालको प्रयोगलाई रोक्ने पक्षमा थिएन र त्यसको प्रयोग गर्ने वातावरण सुनिश्चित गर्ने छ । यसका लागि प्रदर्शन गरिरहनु पर्ने थिएन । र, गरिरहनु पर्ने स्थिति रहन दिइने छैन ।
आजको प्रदर्शनको क्रममा नागरिकहरुले ज्यान गुमाउनु परेकोमा म अत्यन्तै दुःखी भएको छु । यस अकल्पनीय घटनाबाट परिवारका सदस्य गुमाउनु भएका परिवार र आफन्तजनप्रति गहिरो समवेदना व्यक्त गर्दछु । मृतकको परिवारलाई सरकारले उचित राहतको व्यवस्था गर्ने छ र घाइतेहरुको निःशुल्क उपचारको व्यवस्था गर्ने छ । आजको सम्पूर्ण घटनाक्रम र क्षति एवं त्यसको अवस्था र कारण समेतको छानविन र विश्लेषण गरी आगामी दिनमा यस्ता दुर्घटनाहरु हुन नदिन चालिने कदमहरुको सिफारिस समेत गर्नका लागि १५ दिनभित्र प्रतिवेदन पेश गर्नेगरी छानविन समिति गठन गरिने कुराको विश्वास दिलाउन चाहन्छु ।
केपी शर्मा ओली
२३ भदौ २०८२





प्रतिक्रिया