दार्चुला । दार्चुलाको शैल्यशिखर नगरपालिका वडा नम्बर ४ मा रहेको मालिकार्जुन माध्यमिक विद्यालय काडाँपारीमा अभिभावकहरुले तालाबन्दी गरेका छन् । विद्यार्थीहरुको दिवा खाजाको लागि आएको खाद्यान गोदामबाटै गायव पारिएको भन्दै अभिभावकहरुले विद्यालय र दिवा खाजाको खाद्यान्न राखिएको गोदाममा तालाबन्दी गरेका हुन् ।
विद्यालयले तीन महिना देखि विद्यार्थीहरुलाई दिवा खाजा नखुवाएको र विद्यालय बन्द रहेको समयको मौजाद खाद्यान्न समेत वितरण नभएको अवस्थामा विद्यार्थीको लागि तोकिएर आएको भन्दा कम मात्रामा खाद्यान्न भेटिएपछि अभिभावकहरुले विद्यालयमा तालाबन्दी गरेको स्थानिय अभिभावक बिरेन्द्र सिंह बोहराले बताउनुभयो । विद्यालय व्यवस्थापन समिति अध्यक्ष भरत सिंह ठगुन्नाको रहोबरमा अभिभावकहरुले गोदाम निरीक्षण गर्दा दिवा खाजाको लागि आएको खाद्यानमा अनियमितता भएको पाइएकोले छानबिनको माग गर्दै तालाबन्दी गरिएको उहाँले बताउनुभयो ।
विद्यालयमा तालाबन्दी भएको विषयमा विद्यालयका प्रधानाध्यापक धनन्जय विष्टले खाद्यान्नमा अनियमितता भएको भए छानविन गरिने बताउनुभयो । विद्यालयमा दशैँ तिहारको लागि लामो विदा हुने भए पछि विद्यालयमा रहेको मौजाद खाद्यान भाद्र २९ गते विद्यार्थीहरुलाई वितरण गर्दा अभिभावकहरुले तोकिए बमोजिमको खाद्यान्न नभएको भन्दै गुनासो गरेको उहाँले बताउनुभयो । मैले आफैले खाद्यान्न बुझेर गाडीमा पठाएको हुँ, अहिले विद्यालयमा वितरण गर्दा एक दुई ग्यालन तेल कम भेटियो भन्ने अभिभावकहरुले गुनासो गर्नुभएको रहेछ, म काम विशेषले विद्यालय बाहिर छु, एक दुई दिन भित्रै विद्यालयमा आएर छानबिन हुन्छ, प्रधानमध्यपक विष्टले भन्नुभयो ।




