दार्चुला । बैतडीमा एक किशोरी मृत फेला परेकी छन् । जिल्लाको सुर्नया गाउँपालिका वडा नम्बर ५ नौघरकी १७ वर्षीया अप्सरा चन्द मृत फेला परेकी हुन् ।
रौलेश्वर माध्यमिक विद्यालय रामकी बरायलमा कक्षा १२ मा अध्ययनरत चन्द सुर्नया नदी किनारमा मृत फेला परेकी सुर्नया गाउँपालिका वडा नम्बर ५ का वडा अध्यक्ष केशवबहादुर बिष्टले बताउनुभयो।
आज बिहान नदी किनारमा चन्दको शव देखेपछि स्थानीयबासीले प्रहरीलाई खबर गरेका थिए । इलाका प्रहरी कार्यालय पाटनका प्रहरी निरीक्षक राजेन्द्र साउँद नेतृत्वको टोलीले घटनास्थलमा पुगेर घटनाको अनुसन्धान गरिरहेको जिल्ला प्रहरी कार्यालय बैतडीका प्रहरी निरीक्षक तथा सूचना अधिकारी बल्देव बडूले बताउनुभयो ।
शव फेला परेको स्थानभन्दा माथि नदी किनारमा मृतकको मोबाइल र चप्पल फेला परेकाले चन्दले नदीमा हाम फालेको हुन सक्ने आशंका गरिएको छ ।
कक्षा १२ मा अध्यनरत अप्सराको मृत्युपछि सिङ्गो गाउँनै शोकमा डुबेको छ ।





प्रतिक्रिया