दार्चुला । शिक्षा विकास तथा समन्वय इकाई दार्चुलाले जिल्ला भित्रका सम्पूर्ण सामुदायिक तथा संस्थागत विद्यालयहरुलाई विद्यालय सम्पत्ति सुरक्षाको व्यवस्थापन गर्न आग्रह गरेको छ । दशैँ तिहारको लामो विदा रहने भएकोले विदा अवधिमा विद्यालयको सम्पत्ति सुरक्षाको लागि व्यवस्था मिलाउन सम्पूर्ण विद्यालयलाई आग्रह गरिएको शिक्षा विकास तथा समन्वय इकाई दार्चुलाका प्रमुख प्रताप सिंह धामीले बताउनुभयो ।
कार्यालयले विहिबार (आज) एक सूचना जारी गर्दै विद्यालयको सम्पत्ति सुरक्षाको लागि पाले पहरो तथा अन्य भरपर्दो व्यवस्थापन एंव जिम्मेवारी तोकेर विद्यालय विदा गर्न भनिएको छ । उक्त कार्यको सहजीकरणको लागि सम्बन्धित स्थानीय तह, जिल्ला प्रशासन कार्यालय र तीन वटै सुरक्षा निकायलाई पनि आग्रह गरिएको छ ।
विद्यालयको सम्पत्ति सुरक्षा तथा व्यवस्थापनको दायित्त सम्बन्धित विद्यालय प्रशासन र व्यवस्थापन समितिको भएको कुरा समेत स्मरण गराउदै विद्यालयको सम्पत्ति सुरक्षाको व्यवस्थापन गर्न आग्रह गरिएको छ ।




