दार्चुला । संविधान दिवस २०८२ को अवसरमा दार्चुलामा पनि विभिन्न कार्यक्रमको आयोजना गरिएको छ। संविधानसभाबाट नेपालको संविधान २०७२ जारी भएको एक दशक पुरा भएको अवसरमा असोज ३ गते (आज) स्थानीय तहदेखी जिल्ला सदरमुकाम र देशभर विभिन्न कार्यक्रमको आयोजना गरि संविधान दिवस मनाइएको हो।
दार्चुला सदरमुकाम खलंगा नजिकै गल्फै स्थित जगन्नाथ मन्दिर र सशस्त्र प्रहरी बल नजिकै रहेको मालिकार्जुन मन्दिर परिसरमा सरसफाई कार्यक्रम गरिएको छ। साथै महेन्द्र मा.वि. खलंगा अन्तर्गत छात्रावासका विद्यार्थीहरुलाई शैक्षिक सामाग्री हस्तान्तरण गरी दिवसको शुभकामना आदानप्रदान गरिएको जिल्ला प्रशासन कार्यालयले जनाएको छ। खलंगामा आयोजित कार्यक्रममा जिल्ला समन्वय समिति प्रमुख महादेव बडूसहित जनप्रतिनिधि र प्रमुख जिल्ला अधिकारी अनिल पौडेलसहित सुरक्षा अधिकारी र कर्मचारीका साथै सरोकारवालाहरूको उपस्थिति रहेको थियो।
पालिकाहरूले दिप प्रज्वलन लगायत विभिन्न कार्यक्रमको आयोजना गरि संविधान दिवस मनाइरहेका छन्। सरकारले देशको परिवर्तीत राजनीतिक उपलब्धिको संरक्षण गर्ने मूल कानुन ‘संविधान’ जारी भएको दिनलाई देशव्यापी रुपमा मनाउन आह्वान गरेको थियो।
राष्ट्रपति रामचन्द्र पौडेलको प्रमुख आतिथ्यमा आज बिहान काठमाडौंस्थित सैनिक मञ्च, टुँडिखेलमा दिवसको मूल कार्यक्रम आयोजना गरिएको गृहमन्त्रालयका सहसचिव ऋषिराम तिवारीले बताउनुभयो । उक्त कार्यक्रमलाई सम्बोधन गर्दै अन्तरिम सरकारका प्रधानमन्त्री सुशीला कार्कीले गत भदौ २३ र २४ गते भएको विरोध आन्दोलन युवा पुस्ताको चाहना, जनताको बढ्दो चेतनास्तर र मुलुकमा विद्यमान भ्रष्टाचारप्रतिको असन्तुष्टिको प्रतिविम्व भएको बताउनुभयो । संविधानको मर्म र भावना बमोजिम सुशासन, समृद्धि र विकासको क्षेत्रमा भएका कमीकमजोरी र त्यसबाट सिर्जित असन्तोष, अभाव वा अपेक्षा पूरा नभएको कारणले पनि युवा आन्दोलनको जन्म भएको उहाँको भनाइ छ।
राष्ट्रपति रामचन्द्र पौडेलले संविधान दिवसले संघीय लोकतान्त्रिक गणतन्त्रात्मक शासन व्यवस्थाको माध्यमद्वारा दिगो शान्ति, सुशासन, विकास र समृद्धिको आकांक्षा पूरा गर्न सबैलाई एकजुट हुन प्रेरणा मिल्ने विश्वास व्यक्त गर्नुभयो । उहाँले संविधानको मर्म र भावनालाई व्यवहारमा रुपान्तरण गर्न मन, वचन र कर्मले समर्पित भई आ–आफ्नो तर्फबाट इमान्दार र प्रभावकारी प्रयास जारी राख्न सबैमा आह्वान समेत गर्नुभएको छ।
सभामुख देवराज घिमिरेले संविधानविरोधी गतिविधिलाई सबैले समयमै बुझ्न जरुरी रहेको बताउनुभएको छ। राजनीतिक दलका शिर्ष नेताहरूले संविधानबाट प्राप्त उपलब्धिको रक्षाका लागि सबै एकजुट हुनुपर्ने बताएका छन्।





प्रतिक्रिया