दार्चुलाका ८ सहित सुदूरपश्चिममा अझै ५६७ कैदीबन्दी फरार

दार्चुला । भाद्र २३ र २४ गते भएको जेन—जेड आन्दोलनका क्रममा सुदूरपश्चिमका ६ जिल्ला कारागार र एक बाल सुधार गृहबाट भागेका एक हजार चार सय ४१ कैदीबन्दीमध्ये आठ सय ७४ जना समातिएका छन् । सुदूरपश्चिम प्रदेश प्रहरी कार्यालय, धनगढी कैलालीले दिएको जानकारी अनुसार कारागार र बाल सुधार गृहबाट एक हजार तीन सय ८३ पुरुष र ५८ महिला भागेका थिए । तीमध्ये आठ सय ४० पुरुष र ३४ महिला समातिएका छन् ।

प्रहरीका अनुसार पाँच सय ४३ पुरुष र २४ महिला गरी पाँच सय ६७ जना अझै फरार रहेका छन् । आन्दोलनका क्रममा कैलाली कारागारमा रहेका ६ सय आठ पुरुष र ५८ महिला गरी ६ सय ६६ कैदीबन्दी सबै भागेका थिए । उनीहरूमध्ये दुई सय ६७ पुरुष र ३४ महिला गरी तीन सय एक जना समातिएका छन् । यस्तै कञ्चनपुर कारागारका रहेका चार सय ५३ पुरुष र २६ महिला गरी चार सय ७९ मध्ये चार सय ४१ पुरुष र १७ महिला गरी चार सय ५८ जना फरार भएर थिए । तीमध्ये दुई सय ९५ पुरुष र ६ महिला गरी तीन सय एक जना समातिएका छन् ।

डडेल्धुरा कारागारबाट फरार भएका ८५ जना पुरुष कैदीबन्दीमध्ये ७९ समातिएका छन् । यस कारागारमा ९ महिला र एक सय ९ पुरुष गरी एक सय १८ कैदीबन्दी रहेका थिए । बझाङ कारागारबाट फरार भएका ६५ कैदीबन्दीमध्ये ५० समातिएका छन् । यस कारागारमा ८५ जना पुरुष कैदीबन्दी रहेका थिए ।

दार्चुला कारागारमा रहेका ७१ जना कैदीबन्दी आन्दोलनका क्रममा भागेका थिए । तीमध्ये ६३ जना फेला परेका छन् । दार्चुलाबाट भागेर ८ जना कैदीबन्दी अफै फरार रहेका छन् । यस्तै, बैतडी कारागारमा रहेका ६२ जना कैदीबन्दीमध्ये ६१ जना भागेका थिए । हालसम्म ५९ जना समातिएका छन् । प्रदेश प्रहरी कार्यालयका अनुसार डोटी, अछाम र बाजुरा कारागारबाट कुनै पनि कैदीबन्दी भागेका थिएनन् । डोटीमा रहेको सुदूरपश्चिम प्रदेशकै एक मात्र बाल सुधार गृहमा रहेका ६२ जनामध्ये आन्दोलनको क्रममा ६१ जना फरार भएका थिए । तीमध्ये २७ जना हालसम्म सम्पर्कमा आएका प्रदेश प्रहरी कार्यालयले जानकारी दिएको छ ।

४५ विदेशी कैदीबन्दी पनि फरार सुदूरपश्चिम प्रदेश प्रहरी कार्यालय, धनगढीका अनुसार जेन–जेड आन्दोलनका क्रममा दुई महिला र ५५ पुरुष गरी ५७ जना कैदीबन्दी फरार भएका थिए । तीमध्ये ४५ जना अझै फरार छन् । प्रहरीका अनुसार आन्दोलनअघि कैलाली कारागारमा १९ पुरुष र दुई महिला गरी २१ विदेशी कैदीबन्दी रहेका थिए । उनीहरू सबै फरार भएकामा हालसम्म दुई पुरुष समातिएका छन् । यस्तै, कञ्चनपुर कारागारमा रहेका २८ कैदीबन्दी सबै भागेका थिए । उनीहरूमध्ये नौ जनालाई प्रहरीले नियन्त्रणमा लिएको छ । डडेल्धुरा कारागारमा रहेका सबै सात विदेशी कैदीबन्दी पनि भागेका थिए । उनीहरू हालसम्म पनि फरार छन् । दार्चुला कारागारबाट भागेका एक जना विदेशी कैदीबन्दी पक्राउ गरिएको प्रहरीले जानकारी दिएको छ ।

भागेकामध्ये केही आफै सम्पर्कमा आएको र धेरैलाई सुरक्षाकर्मीले पक्राउ गरी कारागार ल्याएका हुन् । फरार रहेका कैदीबन्दीको खोजी कार्य जारी रहेको प्रहरीले जनाएको छ ।

प्रतिक्रिया

Leave a Comment

Your email address will not be published. Required fields are marked *

भर्खरै प्रकाशित

 

घाइते भेट्न केएमसी पुगे गृहमन्त्री गुरुङ

२०८२ चैत्र २०, शुक्रबार १४:२२ गते

ताजा समाचार

लोकप्रिय

सिफारिस

छुटाउनु भयो कि ?