दार्चुला । जिल्ला निर्वाचन कार्यालय दार्चुलाले पनि मतदाता नामावली सङ्कलन सुरु गरेको छ । सरकारको सिफारिसमा राष्ट्रपति रामचन्द्र पौडेलले मतदाता नामावली ऐनलाई संशोधन गर्न बनेको अध्यादेश जारी गरेपछि निर्वाचन कार्यालय दार्चुलाले आज देखि नामावली सङ्कलन कार्य पुनः सञ्चालन गरेको हो ।
निर्वाचन कार्यालय दार्चुलाका सूचना अधिकारी चित्रप्रकाश जोशीले नामावलीमा नाम दर्ता गराउन १६ वर्ष उमेर पूरा भएका नेपाली नागरिकता प्राप्त नागरिकले जिल्ला निर्वाचन कार्यालयमा आएर नामावली टिपाउन सक्नेछन । निर्वाचन कार्यालयले नामावली दर्ताका लागि अगामी कात्तिक ३० गतेसम्मको समयसीमा तोकेको छ । कात्तिक ३० पछि निर्वाचन कार्यक्रम सुरु हुने हुँदा नामावली सङ्कलनका लागि सो समयसीमा तोकिएको हो ।
सार्वजनिक बिदाको दिन बाहेक बिहान ८ देखि बेलुकी ६ बजेसम्म नामावली दर्ता गर्न पाइने जिल्ला निर्वाचन कार्यालय दार्चुलाले जनाएको छ । निर्वाचन कार्यालय दार्चुलाका अनुसार जिल्लामा हाल १८ वर्ष पुरा भएका ९० हजार ८८० जना मतदाता रहेको छन । जसमध्ये पुरुष ४६ हजार ४७३ जना र महिला ४४ हजार ४०७ जना रहेको निर्वाचन कार्यालयले जनाएको छ ।
प्रधानमन्त्रीको सिफारिसमा राष्ट्रपति रामचन्द्र पौडेलले २०८२ फागुन २१ गतेका लागि प्रतिनिधि सभा सदस्यको निर्वाचनको मिति तोक्नुभएको छ ।





प्रतिक्रिया