दार्चुला। दार्चुलाको विभिन्न ठाउँमा अवस्थित लटिनाथ मन्दिरहरूको द्वितीया जात्रासंगै तिहार सम्पन्न भएको छ। लटिनाथको मन्दिर रहेको लेकम–५ मैखोली खर्क, शैल्यशिखर–७ बन्तोली, मालिकार्जुन–३ चौँड, लेकम-१ सर्मोली लगायत विभिन्न स्थानमा भाइटीकाको दिन रात्री जात्रा लागेका हुन्।
दार्चुलाको लेकम क्षेत्रमा रात्रीजात्राहरुको रौनकता छाएको छ । भाइटीकामा दिदीबहिनीले आफ्ना दाजुभाइलाई श्रद्धा, आस्था र निष्ठाका साथ दीर्घायु, आरोग्य र ऐश्वर्य प्राप्तिको कामना गर्दै परम्परा अनुसार पञ्चरङ्गी वा सप्तरङ्गी टीका लगाई भाइटीका तिहार भनाएपछि सोही दिन राति लटिनाथ मन्दिरहरूमा जात्रा लागेका हुन्। बिहीबार रातभरि पुजाआजासहित दामाहा बजाउने, झोडो, फाग र देउडा गाउने लगायत विभिन्न धार्मिक र सांस्कृतिक गतिविधिपछि शुक्रबार विहान धुपदेउ गरेर द्वितीया तिथिको जात्रा सम्पन्न गरिएको लटिनाथ मन्दिर मैखोलीका भरण्या राधापल्लब जोशीले बताउनुभयो। शान्त र मर्यादित ढंगले उत्साहपूर्वक भव्यताका साथ जात्रा सम्पन्न भएको उहाँले बताउनुभयो ।
लेकम क्षेत्रका दर्जनौं शक्तिपीठमा कार्तिक महिनाको पुर्णिामासम्म रात्री जात्रा लाग्नेछन् । अष्ठमी तिथिमा लाग्ने हुनैनाथ जात्रा, नवमी तिथिमा लाग्ने जयपुर जात्रा र चतुर्दशी तिथिमा लाग्ने मालिकार्जुन जात्रा हजारौं दर्शक र भक्तजनको सहभागीतामा भव्यताका साथ मनाउने गरिन्छ । विभिन्न तिथिमा गाउँगाउँका शक्तिपीठमा जात्रा लाग्ने गर्दछन् ।
लेकम क्षेत्रमा लाग्ने रात्री जात्रालाई व्यवस्थित तथा मर्यादित रुपमा मनाउन जिल्ला प्रशासन कार्यालयले सरोकारवालाहरूबाट सुझाव माग गरि सुरक्षा योजना बनाएको प्रमुख जिल्ला अधिकारी अनिल पौडेलले बताउनुभयो । जात्राहरूलाई व्यवस्थित र मर्यादित बनाउन अवस्था अनुसार सुरक्षाकर्मी खटाइएको छ।
कार्तिकको द्धितिया देखि पूर्णीमासम्म लेकम क्षेत्रका विभिन्न मन्दिरमा लाग्ने जात्रामा भक्तजनले पुजाआजा गर्नुका साथै दमाहा लगायत बाजाहरू बजाउने, झोडो-फाग गगाउने, डेउडा खेल खेल्ने लगायत धार्मिक र सांस्कृतिक गतिविधि गर्ने गरिन्छ। जात्राका लागि पहाड पुख्र्यौँली घर भइ तराई र अन्यत्र बसोबास भएका तथा कामको सिलसिलामा गाउँ र देश बाहिर गएकाहरू समेत गाउँ फर्किए पछि अहिले सुदरपहाडका गाउँहरुमा चलहपहल बढेको छ ।
मौलिक परम्परा संस्कृतिको संरक्षण गर्दै तथा प्रचलित कानूनको परिपालना गरी तिहार मनाउन स्थानीय प्रशासनले अनुरोध गरेको छ।




