दार्चुला । दशैँ–तिहारजस्ता ठूला चाडपर्व सकिएसंगै दार्चुला, बैतडीसहित सुदूरपश्चिमका पहाडी जिल्लाहरुबाट तराईका जिल्लामा जाने यात्रुहरुको संख्या ह्वात्तै बढेको छ । चाडपर्वका लागि पुख्र्यौली गाउँ थलोमा आएकाहरु कर्मथलोतर्फ फर्कने क्रम बढेको लेकमका स्थानीय तथा यात्रु मनोज जोशीले बताउनुभयो ।
सुदूरपश्चिमका पहाडी जिल्ला दार्चुला, बैतडी, बझाङ, डडेल्धुरा, डोटी, अछाम र बाजुराबाट तराईका जिल्ला कैलाली र कञ्चनपुर फर्कनेको संख्या बढेको यातायात व्यवसायीले बताएका छन् । दार्चुलाबाट दैनिक सयौँको संख्यामा यात्रुहरु तराइ गइरहेको यातायात व्यवसायी बिष्णु जोशीले बताउनुभयो । दशैँ–तिहारका लागि घर आएका कर्मचारी, विद्यार्थी कर्मथलोमा फर्कने भएकाले हिजोआज गाडीमा यात्रुको चाप बढेको छ । भने कामको सिलसिलामा चाडपर्व र खेतीपातीको कामका लागि घर फर्किएकाहरु समेत परदेशीन सुरु भएको छ । केही मानिसहरु रात्री जात्राहरु हेरेर फर्किने तयारीमा रहेका छन् ।
चाडपर्वअघि तराइ बाट पहाड आउनेको चाप हुने गरेकोमा अहिले तराइ फर्किनेको घुइचो लागेको यातायात व्यवसायीले बताएकाछन् । दशैँ–तिहारको समयमा विभिन्न शक्तिपीठ तथा मन्दिरहरुमा पूजाआजाका लागि आएकाहरु चाडपर्व सकिएसंगै फर्किन थालेका हुन् । पहाडबाट तराई जाने गाडीहरुमा अचेल भीडभाड बढेको छ । पहाडबाट तराई जाने हरेक गाडीमा यात्रुको चाप बढेकोले टिकट तथा सिट व्यवस्थापन गर्नै कठिन भइरहेको उहाँको भनाई छ । अन्य समयको तुलनामा यो समयमा तराई जाने यात्रुहरुको संख्या बढने गरेको छ ।





प्रतिक्रिया