मतदाता नामावली दर्ताका लागि ५ दिन समय थपियो

दार्चुला । आगामी प्रतिनिधि सभा निर्वाचनलाई लक्षित गर्दै निर्वाचन आयोगले मतदाता नामावली दर्ताका लागि समय थपेको छ । आयोगले पाँच दिन समय बढाउँदै मंसिर ५ गतेसम्म मतदाता नामावली दर्ता गर्न सकिने व्यवस्था गरेको हो ।

यसअघि आयोगले कात्तिक ३० गतेसम्म मात्र दर्ता खुला रहने निर्णय गरेकोमा मतदाता नामावली दर्ता समय थपिएको जानकारी आयोगका कार्यवाहक प्रमुख निर्वाचन आयुक्त रामप्रसाद भण्डारीले बताउनुभयो ।।

राष्ट्रिय परिचयपत्र नम्बर लिएका सेवाग्राहीका लागि अनलाइन प्रणालीमार्फतै घरबाटै मतदाता नामावली दर्ता गर्ने सुविधा बिहीबार बिहानदेखि सुरु भएपछि निर्वाचन आयोगको प्रणालीमा समस्या आइरहेको छ । जसले गर्दा अनलाइन प्रणालीबाट मतदाता नामावली दर्ता कार्य प्रभावित समेत भएको छ ।

राष्ट्रिय परिचयपत्र नम्बर भएका व्यक्तिले निर्वाचन आयोगको वेबसाइटमार्फत प्रवेश गरी आफ्नो परिचयपत्र नम्बर र जन्ममिति प्रविष्टि गरेर व्यक्तिगत तथा जैविक विवरण (बायोमेट्रिक) प्रणालीमै प्राप्त गर्न सक्ने व्यवस्था भएको छ । यसरी दर्ता गर्नेलाई निर्वाचन कार्यालयमा जानु नपर्ने आयोगले जनाएको छ ।

राष्ट्रिय परिचयपत्र नम्बर नभएका सेवाग्राहीले भने अनलाइनबाट विवरण भरेर तोकिएको मितिमा नजिकको निर्वाचन कार्यालयमा उपस्थित भई फोटो तथा औँठाछापसमेत दिएपछि दर्ता प्रक्रिया पूरा हुने छ । आयोगका अनुसार नयाँ व्यवस्थाले मतदाता नामावली दर्ताका लागि कार्यालयमा देखिने भीड कम हुने, सेवाग्राहीले छिटो र सहज रूपमा दर्ता सेवा पाउने र समयमै सबै नागरिक मतदाता बन्ने सुनिश्चितता बढ्ने अपेक्षा गरिएको छ ।

आगामी फागुन २१ गतेका लागि प्रतिनिधि सभा निर्वाचन तोकिएको छ । निर्वाचन मिति नजिकिँदै जाँदा मतदाता नामावली दर्ता प्रक्रिया तिव्र बनेको आयोगले जनाएको हो ।

प्रतिक्रिया

Leave a Comment

Your email address will not be published. Required fields are marked *

भर्खरै प्रकाशित

 

घाइते भेट्न केएमसी पुगे गृहमन्त्री गुरुङ

२०८२ चैत्र २०, शुक्रबार १४:२२ गते

ताजा समाचार

लोकप्रिय

सिफारिस

छुटाउनु भयो कि ?