दार्चुला । संसद् पुनस्र्थापना र सर्वपक्षीय सरकार माग्दै एमालेले आज देशभर शक्ति प्रदर्शन गरेको छ। संसद् विघटन र सरकार गठनलाई ‘प्रतिगामी षडयन्त्र’ भन्दै एमालेले जनपरिचालनसहित जिल्लाका सदरमुकाम र ठूला शहरमा जनसभा गरेको हो।

सभाका लागि नेपालगन्ज पुगेका महासचिव शंकर पोखरेलले एमाले सङ्कटबाट नभागी त्यसको सामना गर्ने बताउनुभयो । एमालेका नेता कार्यकर्ता देशमा लोकतन्त्र ल्याउनका लागि लामो समय जेल बसेका, भूमिगत बसेका भएकोले लोकतन्त्र विरोधी सानातिना हमलाबाट विचलित हुनु नहुने बताउनुभयो ।

‘एमालेका नेता कार्यकर्ता लोकतन्त्र प्राप्तिका लागि लामो समय जेल बस्यौँ । लामो समय भूमिगत बस्यौँ । त्यसैले हामीलाई सङ्कटसँग जुध्ने अनुभव छ। षडयन्त्रकारीलाई लागेको थियो पार्टी कार्यालय जलाएपछि एमाले सकिन्छ । घर जलाइपछि नेता कार्यकर्ता सकिन्छन् । तर अहिले मैदानमा हेर्नुभयो भने एमाले भन्दा अरू कुनै शक्ति देख्नु भएको छ ?’ उहाँले भन्नुभयो।

राजनीतिक दलका कार्यकर्तालाई उच्च मनोबलका साथ पार्टी काममा खटिन आह्वान गर्नुभयो । चितवन पुगेका उपाध्यक्ष रामबहादुर थापा ‘बादल’ले फागुन २१ गते घोषित निर्वाचनलाई प्रतिक्रान्तिलाई वैधानिकता दिने र दलहरूलाई विस्थापित गर्ने हनी ट्र्याप भएको दाबी गर्नुभयो ।
‘फागुन २१ को निर्वाचन प्रतिक्रान्तिलाई पूर्णता र वैधानिकता दिनको निम्ति गराउने निर्वाचन हो । यो सामान्य निर्वाचन होइन । संसदीय निर्वाचन जस्तो निर्वाचन होइन । साम्राज्यवादीहरूले आफ्नो दलालहरूलाई स्थापित गर्ने र प्रतिक्रान्तिलाई पूर्णता दिने र प्रतिक्रान्तिको सरकारलाई स्थायित्व दिने नौटङ्की हो । यो एउटा हनी ट्र्याप हो ।’ बादलले भन्नुभयो ।

उहाँले फागुन २१ को निर्वाचनमा नेकपा एमाले नपरेको र पर्नु नहुने पनि बताउनुभयो । सचिव छविलाल विश्वकर्माले जेनजी आन्दोलनमा आपराधिक गतिविधिमा संलग्नहरूलाई सरकारले तत्काल कारबाही गर्नुपर्ने माग गर्नुभयो । जेलबाट भागेका कैदीहरूलाई नियन्त्रणमा लिने काम समेत सरकारले गर्न नसकेको भन्दै चुनावको वातावरण नै नबनेको जिकिर गर्नुभयो ।

अर्का सचिव लेखराज भट्ले पनि मुलुकको राष्ट्रियता, सार्वभौमिकता र राष्ट्रिय अखण्डताका निमित्त एमाले सङ्घर्षमा आएको बताए। कैलालीले पुगेका भट्टले देश र जनताको पक्षमा एमाले रहेको बताउनुभयो । उहाँले पूर्व प्रधानन्यायाधीश सुशीला कार्की संविधानको खिल्ली उडाउँदै प्रधानमन्त्री बनेको भन्दै असंवैधानिक भएको दाबी गर्नुभयो । प्रतिनिधि सभा पुनस्र्थापना विकल्प नभएको लेकखकले बताउनुभयो ।

लमजुङ पुगेका उपमहासचिव पृथ्वीसुब्बा गुरुङले पनि सरकारले फागुन २१ मा चुनाव नै नगराउने दाबी गर्नुभयो । उहाँले अहिलेको समस्या समाधान गर्नको लागि संसद् पुनस्र्थापनाको विकल्प नभएको बताउनुभयो ।

गुल्मीमा पुगेकी नेतृ रामकुमारी झाँक्रीले जेनजी आन्दोलन संविधान विरुद्ध भएको जिकिर गर्नुभयो । भदौको २३ र २४ गतेको घटनालाई हामीले असाध्यै कहालीलाग्दो र हाम्रो जीवनमा, हामी बाँचेको समयमा कहिल्यै नदेखिएको यस्तो घटनाको रूपमा लिएका छौँ उहाँले भन्नुभयो । राष्ट्रियताको बारेमा शिर ठाडो पारेर अविचलित रूपमा सरकार अगाडि बढेपछि पार्टी अध्यक्ष केपी ओली नेतृत्वको सरकारविरुद्ध घेराबन्दी भएको उहाँले बताउनुभयो ।

प्रतिक्रिया

भर्खरै प्रकाशित

 

घाइते भेट्न केएमसी पुगे गृहमन्त्री गुरुङ

२०८२ चैत्र २०, शुक्रबार १४:२२ गते

ताजा समाचार

लोकप्रिय

सिफारिस

छुटाउनु भयो कि ?