दार्चुला। दार्चुला जिल्लाको लेकम–४ पाती आँठाका १२ वर्षीय मनोज गिरीको उपचारमा गम्भीर आर्थिक अभाव देखिएको छ। गत मंसिर १२ गते उच्च रक्तचापका कारण दिमागको नसा फुटेर दुबै आँखाको दृष्टि गुमाएका मनोजको काठमाण्डौस्थित टिचिङ अस्पतालमा उपचार भइरहेको छ।
नातिको उपचारमा हालसम्म ठूलो रकम खर्च भइसकेको हजुरबुवा जित गिरीले बताउनुभयो। “नाती बचाउन सक्ने सबै धनसम्पत्ति सकियो। आफन्त–इष्टमित्रले पनि सकेको सहयोग गरिदिए, तर अब उपचार टिकाउन कठिन भइरहेको छ,” उहाँले गहभरिलो आवाजमा भन्नुभयो।
मनोजका बुवा रोजगारीका लागि भारतमा हुनुहुन्छ। “छोराको कमाइले घरखर्च चल्थ्यो। तर अहिले नाती यस्तो गम्भीर अवस्थामा परेको देख्दा उपचार खर्च धान्नै नसक्ने भयो। सबैसँग आर्थिक सहयोगको अपिल गर्न बाध्य भएको छु,” हजुरबुवाले भन्नुभयो।
अस्पताल स्रोतका अनुसार मनोजको स्वास्थ्यमा सुरुको तुलनामा लगभग ६० प्रतिशत सुधार देखिएको छ। तर अझै कति समय अस्पतालमै राख्नुपर्ने भन्ने निश्चित छैन। “उपचारमा ठूलो खर्च लाग्ने भएकाले अब परिवारलाई धान्न गाह्रो भएको छ,” स्रोतले बतायो।
यसबीच, मनोजको उपचारका लागि स्थानीयवासी र आफन्तमार्फत आर्थिक सहयोग संकलन गर्ने अभियान पनि सुरु गरिएको छ।
सहयोग गर्नचाहनुहुने सहयोगिहरुले मनोजका हजुरबुवा जित सिंह गिरीको नाममा लक्ष्मी सनराइज बैंकको खाता नम्बर ०९०४४००१७४९ मोबाइल नम्बर ९७४३९५८२०३ वा माथि दिइएको QR स्क्यान गरि सहयोग रकम पठाउन सक्नुहुने छ ।





प्रतिक्रिया