दार्चुला । दार्चुलाको चिनसंग जोडिएको तिङ्कर नाका नियमित सञ्चालनको लागि पहल र कैलाश–मानसरोवर यात्रामा सहजीकरण गरिदिन माग गर्दै एमाले अध्यक्ष एवं पूर्व प्रधानमन्त्री केपि शर्मा ओलीलाई ज्ञापन पत्र बुझाइएको छ । व्याँस गाउँपालिका वडा नम्बर १ का वडा अध्यक्ष असोक सिंह बोहरा, स्थानीय व्यापारीसहित स्थानीयहरुले व्याँस क्षेत्रका बासिन्दाको प्रतिनिधित्व गर्दै एमाले अध्यक्ष एवं पूर्व प्रधानमन्त्री ओलीलाई ज्ञापनपत्र बुझाएका हुन ।
मंगलबार (हिजो) बुझाइएको ज्ञापनपत्रमा तिङ्कर नाका नियमित रूपमा सञ्चालनको आवश्यक पहल गरिदिन तथा व्याँस, तिंकर र छाङ्गरु क्षेत्रका स्थानीय बासिन्दालाई कैलाश–मानसरोवर यात्रामा सहजिकरणको लागि पहल गरिदिन माग व्याँस गाउँपालिका वडा नम्बर १ का वडा अध्यक्ष अशोक सिंह बोहराले बताउनुभयो ।
ज्ञापनमार्फत नेकपा एमालेको ११औँ राष्ट्रिय महाधिवेशनबाट अध्यक्षमा पुनः निर्वाचित भएका ओलीलाई हार्दिक बधाई तथा शुभकामना व्यक्त गर्दै देश र जनताको हितमा सशक्त नेतृत्व प्रदान गर्ने विश्वाससमेत व्यक्त गरिएको छ ।
ज्ञापनपत्रमा कोभिड–१९ महामारीयता दार्चुला–चीन (तिब्बत) सिमानामा रहेको तिङ्कर नाका नियमित रूपमा सञ्चालनमा नआउँदा स्थानीयवासीको दैनिकी, व्यापार तथा सामाजिक गतिविधिमा गम्भीर असर परेको उल्लेख गरिएको छ । परापूर्वकालदेखि नै दार्चुलाबासीको प्रमुख व्यापारिक मार्गका रूपमा रहेको उक्त नाकालाई सुरक्षा र दुईपक्षीय सहमतिको आधारमा साबिकझैँ नियमित रूपमा सञ्चालन गराउन चिनियाँ पक्षसँग कूटनीतिक पहल गर्न आग्रह गरिएको छ ।
त्यसैगरी व्याँस, तिङ्कर र छाङ्गरु क्षेत्रका स्थानीय बासिन्दाका लागि कैलाश–मानसरोवर यात्रा धार्मिक, सांस्कृतिक र परम्परागत दृष्टिले अत्यन्त महत्वपूर्ण रहेको जनाउँदै दर्शन तथा पवित्र जल ल्याउन सहज पहुँच सुनिश्चित गरिदिन अनुरोध गरिएको छ । मानसरोवरको पवित्र जल बिना देवी–देवताको पूजा अधुरो मानिने धार्मिक मान्यता रहेकाले यस विषयमा परराष्ट्र मन्त्रालय तथा चिनियाँ सम्बन्धित निकायहरूसँग आवश्यक समन्वय र व्यवस्था मिलाइदिन ज्ञापनमार्फत माग गरिएको छ ।
ज्ञापनमा उल्लेखित विषयहरू राष्ट्रिय हित, स्थानीय समृद्धि तथा सांस्कृतिक–धार्मिक मूल्यसँग प्रत्यक्ष रूपमा जोडिएको जनाउँदै आवश्यक नीति तथा निर्णयमार्फत समाधान गरिदिन अध्यक्ष ओलीसँग अपेक्षा गरिएको छ । व्याँस गाउँपालिका वडा नम्बर १ का वडा अध्यक्ष अशोक सिंह बोहरासहित व्याँस गाउँपालिका वडा नम्बर १ का योगेन्द्र सिंह बोहरा, अमित सिंह तिंकरी, मुकेश बोहरा र तेम्बा लामाले समुदायको प्रतिनिधित्व गर्दै ओलीलाई ज्ञापनपत्र बुझाएका हुन् ।
नेपाल–चीन (तिब्बत) सीमामा पर्ने तिङ्कर नाका कुनै समय स्थानीय समुदायको व्यापार, आवतजावत तथा सांस्कृतिक सम्बन्धको प्रमुख आधार थियो। पुस्तौँदेखि स्थानीयले यही नाकामार्फत नुन, ऊन, खाद्यान्नलगायतका सामग्रीको नियमित कारोबार गर्दै आएका थिए।
सन् २०२० मा कोभिड–१९ महामारीयता तिङ्कर नाका नियमित रूपमा सञ्चालनमा आउन सकेको छैन। नाका बन्द रहँदा स्थानीय व्यापार ठप्पजस्तै बनेको छ भने रोजगारीका अवसर खुम्चिँदा सीमावर्ती बस्तीका नागरिक राज्यबाट उपेक्षित भएको अनुभूति गर्न थालेका छन्।
नेपाल–चीन हिमालयन मैत्री समाजका केन्द्रीय सदस्य तथा व्यास गाउँपालिका वडा नम्बर १ का स्थानीय व्यापारी योगेश बोहराले तिङ्कर नाका नियमित नहुँदा व्यापार व्यवसायमा समस्या भएको बताउनुभयो । उहाँका अनुसार यस वर्ष आंशिक रूपमा नाका सञ्चालन भए पनि १०–१५ दिनमा एकपटक मात्रै खुल्दा नियमित रूपमा सामान ओसारपसार हुन सकेन।
सरकारले अध्यागमन कार्यालय राख्ने कुरा अलपत्र परेको छ। भन्सार मात्रै भइदिएको भए यो नाका नियमित सञ्चालनमा सहज हुने उनीहरुको विश्वास छ। पूर्वप्रधानमन्त्री केपी शर्मा ओली नेतृत्वको सरकारले २०८१ कात्तिक ८ गतेको मन्त्रिपरिषद् बैठकबाट तिङ्करमा अध्यागमन कार्यालय खोल्ने निर्णय गरेको थियो। तिङ्करमा अध्यागमन कार्यालय नखुलेका कारण राज्यले सीमा क्षेत्रलाई ध्यान दिन नसकेको व्यासीको गुनासो छ।
तिङ्कर नाका नियमित सञ्चालन नहुँदा उत्पन्न समस्याका विषयमा दार्चुलाका स्थानीय समुदायका प्रतिनिधिले काठमाडौँ पुगेर अघिल्लो सरकारलाई ज्ञापनपत्र बुझाएको थियो। ज्ञापनपत्रमा तिङ्कर नाका नियमित सञ्चालनको व्यवस्था गर्न तथा कैलाश मानसरोवर यात्रामा सहज पहुँच सुनिश्चित गर्न सम्बन्धित निकायसँग राजनीतिक र कूटनीतिक पहलका लागि आग्रह गरिएको थियो।
उनीहरूले कालापानी क्षेत्रका नागरिकले भोग्दै आएका समस्या समाधानका लागि सरकारबाट आवश्यक कूटनीतिक तथा नीतिगत निर्णयका लागि पहल हुने विश्वास व्यक्त गरेका छन्। साथै व्याँस गाउँपालिकाको वडा नम्बर १ र २ जोड्ने घोरेटो बाटो निर्माण गरी सञ्चालनमा ल्याइएको थियो। साढे पाँच करोड रुपैँया लागतमा करिब एक दशकदेखि बन्द रहेको दुम्लिङदेखि छाङरुसम्मको पैदल घोरेटो बाटो यस वर्ष पुनः सञ्चालन भएको छ। उक्त बाटो सञ्चालनमा ल्याउन तत्कालीन प्रधानमन्त्री ओलीले विशेष भूमिका खेलेको वडाध्यक्ष बोहराले बताउनुभयो ।





प्रतिक्रिया