दार्चुला — प्रतिनिधि सभा निर्वाचन नजिकिँदै जाँदा नेकपा (एमाले) दार्चुलाले जिल्लाभर राजनीतिक गतिविधि तीव्र बनाएको छ। एमाले दार्चुलाका प्रतिनिधि सभा सदस्य पदका उम्मेदवार गणेशसिंह ठगुन्ना नेतृत्वको टोलीले विभिन्न स्थानीय तहमा मतदाता भेटघाट तथा अगुवा–कार्यकर्ता भेला कार्यक्रम सञ्चालन गरिरहनुभएको छ।

पार्टीको पूर्वनिर्धारित तालिका अनुसार जिल्लाभर मतदाता भेटघाट तथा अगुवा कार्यकर्तासँग अन्तरक्रिया कार्यक्रम सञ्चालन भइरहेका छन्। सोही क्रममा बिहीबार मालिकार्जुन गाउँपालिका–३ मा आयोजित कार्यक्रममा नेपाली कांग्रेस र नेकपा परित्याग गरी ४५ जना नेता–कार्यकर्ता एमालेमा प्रवेश गर्नुभएको जिल्ला कमिटी सचिव उमेशराज जोशीले जानकारी दिनुभयो।

एमालेमा प्रवेश गर्नेमा तत्कालीन नेकपा (माओवादी)का जिल्ला कमिटी सदस्य एवं पूर्व वडा कमिटी अध्यक्ष सोबिरसिंह धामी, वडा कमिटी सदस्य प्रकाशसिंह धामी तथा कांग्रेसका क्रियाशील सदस्य ज्ञानसिंह धामी, धर्मसिंह धामी, मोहनसिंह धामी लगायत रहनुभएको छ।

यस्तै, शुक्रबार शैल्यशिखर नगरपालिका–४ काँडापारीमा आयोजित कार्यक्रममा कांग्रेस, नेकपा र रास्वपासहितका विभिन्न दल परित्याग गरी ३५ जनाले एमाले प्रवेश गर्नुभएको छ। कांग्रेस परित्याग गरी एमालेमा प्रवेश गर्नेमा गौरीदत्त भट्ट, रघुवीर भट्ट, नरुवा महर, प्रकाश भट्ट, इन्द्रसिंह धामी, शंकर भट्ट र भक्त भट्ट रहनुभएको छ। रास्वपा परित्याग गरी भोजराज भट्ट तथा नेकपा परित्याग गरी मानमती भट्टले पनि एमाले प्रवेश गर्नुभएको छ।

नवप्रवेशीहरूलाई प्रतिनिधि सभा सदस्य पदका उम्मेदवार गणेशसिंह ठगुन्ना लगायतका नेताहरूले स्वागत गर्नुभएको जिल्ला कमिटी सचिव उमेशराज जोशीले जानकारी दिनुभयो।

मालिकार्जुन र शैल्यशिखरका कार्यक्रम सम्पन्न गरी एमालेको मूल टोली हाल नौगाड गाउँपालिकामा प्रवेश गरिसकेको छ। शुक्रबार नौगाडका धुलिगडा, सौकेबगड, होपरीगाड, धामीडेरा, जामिर, दल्लेख लगायतका स्थानमा भेटघाट गरिएको छ भने शनिबार सुन्डुमुन्ड, इयरकोट लगायतका स्थानमा कार्यक्रम गर्ने तालिका रहेको टोलीका सदस्य दौलतसिंह ठगुन्नाले जानकारी दिनुभयो।

एमालेले जिल्लाका सबै क्षेत्रका नागरिकसँग प्रत्यक्ष भेटघाट तथा घरदैलो अभियान सञ्चालन गरिरहेको जिल्ला कमिटी सचिव जोशीले बताउनुभयो। अन्य दलहरूले सदरमुकाम र पालिका केन्द्र लक्षित कार्यक्रम गरिरहेका बेला एमालेले भने गाउँ–गाउँ पुगेर कार्यक्रम सञ्चालन गरिरहेको उहाँको भनाइ छ।

प्रतिक्रिया

भर्खरै प्रकाशित

 

घाइते भेट्न केएमसी पुगे गृहमन्त्री गुरुङ

२०८२ चैत्र २०, शुक्रबार १४:२२ गते

ताजा समाचार

लोकप्रिय

सिफारिस

छुटाउनु भयो कि ?