दार्चुला । फागुन २१ गते हुने प्रतिनिधिसभा निर्वाचनको लागि नेपाली कांग्रेसको तर्फबाट दार्चुलाबाट प्रत्यक्षतर्फका उम्मेदवार धर्मानन्द जोशी र समानुपातिक तर्फका उम्मेदवार करबिर बहादुर कार्की नेतृत्वको टोली मतदाता भेटघाट तथा प्रचारप्रसारको क्रममा शनिबार (आज) शैल्यशिखर नगरपालिकाको वडा नम्बर ८ को पपरथला, अम्तोलीमा घरदैलो गरेर लेकम गाउँपालिकाको वडा नम्बर ५ सिमखेत, गोगना, बिराली, पिड हुँदै मैखोली पुगेको छ। शनिबार बेलुकी मैखोली पुगेर डाँडाबाग मन्दिरमा मतदाता जनता तथा नेता कार्यकर्तासंग भेटघाट गरेको टोलीमा सहभागी धर्मा जोशीले बताउनुभयो।
कांग्रेस उम्मेदवार धर्मानन्द जोशीले लेकम क्षेत्रमा घरदैलो गर्दा मतदाताको न्यानो स्नेह, सद्भाव र माया पाएकोले लेकम क्षेत्रबाट आफुले राम्रो मत पाउने विश्वास व्यक्त गर्नुभएको छ। लेकम-५ को मैखोलीमा भएको मतदाता भेटघाट कार्यक्रममा बोल्दै कांग्रेस उम्मेदवार जोशीले विभिन्न सामाजिक कार्यपछि नीति निर्माण क्षेत्रमै पुगेर शिक्षा, स्वास्थ्य, मानव अधिकार, सामाजिक न्याय, सुशासनको क्षेत्रमा काम गर्न सकिने निष्कर्ष सहित आफू संसदीय उम्मेदवार बनेको बताउनुभयो। साथै उहाँले आफुले जीवनमा धेरै परीक्षा दिएको र दार्चुलाको सुधारका लागि यसपटक अन्तिम विषयको परीक्षा दिनका लागि संसदीय उम्मेदवार बनेकाले आफुले जनताको मन र मन जित्ने धारणा राख्नुभयो। भेटघाट तथा घरदैलो कार्यक्रममा जोशीसंगै कांग्रेसकोतर्फबाट प्रतिनिधिसभा सदस्यका लागि समानुपातिक तर्फका उम्मेदवार करबिर बहादुर कार्की, महासमिति सदस्य हरक बिष्ट लगायत स्थानीय नेता कार्यकर्ताको उपस्थिति रहेको नेबि संघका नेता दिपक खातीले बताउनुभयो।




