दार्चुला । दार्चुलामा प्रतिनिधि सभा सदस्य निर्वाचनमा प्रत्यक्षतर्फ उम्मेदवार बनेका आठ जनाको धरौटी जफत भएको छ।
प्रत्यक्षतर्फ उम्मेदवार बनेका पहिलो संविधान सभा सदस्य समेत रहेका नेपाली कम्युनिष्ट पार्टीका उम्मेदवार लक्ष्मण दत्त जोशीसहित आठ जना उम्मेदवारको धरौटी जफत भएको हो। प्रतिनिधि सभा सदस्य निर्वाचन ऐन, २०७४ को दफा ७१ (१) बमोजिम कुल सदर मतको १० प्रतिशत मत प्राप्त गर्न नसकेपछि उनीहरूको धरौटी जफत भएको हो।
दार्चुलामा प्रत्यक्षतर्फ जम्मा ४९ हजार ९ सय ३७ मत खसेकोमा ४७ हजार ८ सय ९० मत सदर भएको थियो। सदर मतको १० प्रतिशत अर्थात् ४ हजार ७ सय ८९ मत ल्याउन नसकेका ८ जना उम्मेदवारको धरौटी जफत भएको हो।
धरौटी जफत हुनेमा नेकपाका जोशीसहित राप्रपाका राजेश चन्द पनि रहेका छन्। चन्दले ६६६ मत मात्रै प्राप्त गरेका छन्। त्यस्तै नेकपा (माओवादी)का नवराज भट्टले २९८ मत प्राप्त गरेका छन् भने अन्य उम्मेदवारहरूले सय मतसमेत कटाउन सकेका छैनन्।
राष्ट्रिय जनमोर्चाका बिर्खराज पन्तले ८६, नेपाल कम्युनिष्ट पार्टी (संयुक्त)का विद्यादेव जोशीले ४१, आम जनता पार्टीका प्रेम सिंह बडालले ३४, संघीय लोकतान्त्रिक मञ्चका गगन ठगुन्नाले १९ र नेपाल मजदुर किसान पार्टीका रमेश कुमार रावलले १८ मत प्राप्त गरेका छन्।





प्रतिक्रिया