दार्चुला । निर्वाचन आयोगले मतदाता शिक्षा कार्यक्रम सञ्चालन गरेको दाबी गरे पनि दार्चुलामा बदर मतको संख्या भने अपेक्षाअनुसार घट्न सकेको छैन।

प्रतिनिधिसभा सदस्य निर्वाचनका लागि आयोगले प्रत्येक वडामा १५ दिनसम्म मतदाता शिक्षा कार्यक्रम सञ्चालन गरेको थियो। आयोगले यस पटक बदर मत घटाउने र मतदाताको सहभागिता बढाउने उद्देश्यका साथ कार्यक्रम सञ्चालन गरेको जनाएको थियो। तर दार्चुलामा न त बदर मत घटेको छ न त मतदानमा सहभागी हुने मतदाताको संख्या नै उल्लेख्य रूपमा बढेको देखिएको छ।

एक मात्रै प्रतिनिधिसभा निर्वाचन क्षेत्र रहेको दार्चुलामा प्रत्यक्षतर्फ ४.१० प्रतिशत र समानुपातिकतर्फ ३.१५ प्रतिशत मत बदर भएको सार्वजनिक मतपरिणामले देखाएको छ।

मुख्य निर्वाचन अधिकृतको कार्यालयले सार्वजनिक गरेको तथ्यांकअनुसार प्रत्यक्षतर्फ खसेको कुल ४९ हजार ९३७ मतमध्ये २ हजार ४७ मत बदर भएका छन्। यस्तै समानुपातिकतर्फ खसेको कुल ५० हजार ९३० मतमध्ये १ हजार ६ सय ८ मत बदर भएका छन्, जुन ३.१५ प्रतिशत हो।

देशभरझैं दार्चुलामा पनि जिल्ला निर्वाचन कार्यालयले फागुन ३ गतेदेखि १८ गतेसम्म सबै वडामा स्वयंसेवक परिचालन गरी मतदाता शिक्षा कार्यक्रम सञ्चालन गरेको थियो। तर कतिपय स्वयंसेवक फिल्डमा प्रभावकारी रूपमा नखटिएको गुनासो मतदाताले गरेका छन्।

जिल्ला निर्वाचन कार्यालय दार्चुलाका अनुसार मतपत्रमा एकभन्दा बढी चिह्न लगाउने, गलत स्थानमा छाप लगाउने, औँठाछाप लगाउने तथा खाली मतपत्र हाल्ने जस्ता कारणले मत बदर हुने गरेको छ।

सरोकारवालाले मतदाता शिक्षा स्वयंसेवकहरूको प्रभावकारी परिचालन नहुँदा बदर मत अपेक्षाअनुसार घट्न नसकेको बताएका छन्।

प्रतिक्रिया

भर्खरै प्रकाशित

 

घाइते भेट्न केएमसी पुगे गृहमन्त्री गुरुङ

२०८२ चैत्र २०, शुक्रबार १४:२२ गते

ताजा समाचार

लोकप्रिय

सिफारिस

छुटाउनु भयो कि ?