दार्चुला । दार्चुलाबाट निर्वाचित प्रतिनिधिसभा सदस्य गणेश सिंह ठगुन्ना धन्यवाद ज्ञापन तथा मतदाता भेटघाट कार्यक्रममा जुट्नुभएको छ। नेपाल कम्युनिष्ट पार्टी (एमाले)बाट निर्वाचित ठगुन्ना जिल्लाका सबै स्थानीय तहमा पुगेर मतदातालाई धन्यवाद दिने तथा स्थानीयवासीका समस्या सुन्ने कार्यमा लाग्नुभएको हो।

गत बिहीबार सम्पन्न प्रतिनिधिसभा सदस्य निर्वाचनबाट निर्वाचित सांसद ठगुन्नाले शुक्रबार (आज) बाट धन्यवाद ज्ञापन तथा मतदाता भेटघाट कार्यक्रम सुरु गर्नुभएको छ।

जिल्लाका नौवटै स्थानीय तहमा कार्यक्रम सञ्चालन गर्ने तालिका अनुसार आज नौगाड गाउँपालिकाबाट कार्यक्रम सुरु गरिएको हो। मतदातालाई धन्यवाद ज्ञापन, भेटघाट तथा सुझाव सङ्कलनका लागि नौगाड गाउँपालिकाको सुण्डमुण्डमा कार्यक्रम सञ्चालन गरिएको जिल्ला कमिटी सचिव उमेशराज जोशीले जानकारी दिनुभयो।

नौगाडमा वीरबहादुर ठगुन्ना स्मृति प्रतिष्ठानद्वारा आयोजित कार्यक्रममा शुभकामना आदानप्रदान तथा स्वर्गीय नेता ठगुन्नाको सालिकमा माल्यार्पण गरिएको उहाँले बताउनुभयो। सांसद ठगुन्नाले आज बेलुकी नौगाड–१ नागुमा भेटघाट तथा छलफल गर्ने कार्यक्रम रहेको उहाँको सचिवालयले जनाएको छ।

त्यस्तै फागुन ३० गते दिउँसो ३ बजे मार्मा गाउँपालिकाको लटिनाथमा र बेलुकी वडा नम्बर १ को दह गुल्जरमा कार्यक्रम आयोजना गरिनेछ। चैत १ गते अपिहिमाल गाउँपालिकाको खण्डेश्वरी–झुस्कुमा कार्यक्रम सञ्चालन गरिने सचिव जोशीले जानकारी दिनुभयो।

यसैगरी चैत २ गते बिहान ९ बजे शैल्यशिखर नगरपालिकाको गोकुलेश्वरमा कार्यक्रम गरी सोही दिन दिउँसो २ बजे लेकम गाउँपालिका स्तरीय कार्यक्रम रिठाचौपातामा सञ्चालन गरिनेछ। चैत ३ गते बिहान ९ बजे मालिकार्जुन गाउँपालिकाको शंकरपुरमा र दिउँसो २ बजे महाकाली नगरपालिकाको सदरमुकाम खलंगामा कार्यक्रम सञ्चालन हुनेछ।

चैत ४ गते बिहान १० बजे दुहुँ गाउँपालिकाको चल्लेगडामा र दिउँसो ४ बजे व्याँस गाउँपालिका स्तरीय भेटघाट कार्यक्रम सञ्चालन गरिनेछ। चैत ५ गते जिल्ला सदरमुकाम खलंगामा जिल्ला स्तरीय कार्यक्रम आयोजना गर्ने तालिका रहेको सचिव जोशीले जानकारी दिनुभयो।

प्रतिक्रिया

भर्खरै प्रकाशित

 

घाइते भेट्न केएमसी पुगे गृहमन्त्री गुरुङ

२०८२ चैत्र २०, शुक्रबार १४:२२ गते

ताजा समाचार

लोकप्रिय

सिफारिस

छुटाउनु भयो कि ?