दार्चुला । दार्चुलाको मालिकार्जुन गाउँपालिका वडा नम्बर ३ स्थित मालिकार्जुन माध्यमिक विद्यालय मडमा लामो समयदेखि विद्यालय व्यवस्थापन समिति गठन नभएको विषयमा नेपाल विद्यार्थी संघ (नेविसंघ) मालिकार्जुन गाउँपालिका समितिले गम्भीर ध्यानाकर्षण भएको जनाएको छ।

नेविसंघ मालिकार्जुन गाउँपालिका सभापति ललित सिंह धामीले विद्यालयका प्रधानाध्यापकलाई ज्ञापनपत्र बुझाउँदै करिब पाँच महिनादेखि विद्यालय व्यवस्थापन समिति गठन नभएकोप्रति आपत्ति जनाउनुभएको हो ।

ज्ञापनपत्रमा विद्यालय व्यवस्थापन समिति विद्यालयको शैक्षिक, प्रशासनिक तथा आर्थिक गतिविधिलाई पारदर्शी, व्यवस्थित र प्रभावकारी बनाउन महत्वपूर्ण संरचना भएको उल्लेख गरिएको छ। लामो समयसम्म समिति गठन नगरी विद्यालय सञ्चालन भइरहेको अवस्था दुःखद, गैरजिम्मेवारपूर्ण तथा प्रचलित नियम विपरीत भएको नेविसंघको ठहर छ।

यसले विद्यालयको समग्र व्यवस्थापन, नीति निर्माण तथा निर्णय प्रक्रियामा प्रत्यक्ष प्रभाव पारिरहेको भन्दै प्रचलित शिक्षा ऐन तथा नियमावली बमोजिम यथाशीघ्र विद्यालय व्यवस्थापन समिति गठन प्रक्रिया अघि बढाउन नेविसंघले माग गरेको छ।

समिति गठन प्रक्रिया तत्काल सुरु नगरेमा नेपाल विद्यार्थी संघ बाध्य भएर थप दबाबमूलक कार्यक्रम तथा आन्दोलनका कदम चाल्ने चेतावनी समेत दिएको सभापति धामीले जानकारी दिनुभयो ।

यस विषयमा विद्यालयका प्रधानाध्यापक नवराज जोशीले समिति गठन प्रक्रिया अगाडी बढाईएको र सदस्यहरुबिच कुरा नमिल्दा ढिला हुन पुगेको बताउनुभयो । नियमावली अनुसार अभिभावकहरुबाट ४ जना र ३ जना मनोनित सदस्यहरु समेत चयन भईसकेको अवस्थामा अध्यक्ष चयन हुन नसकेको हो ।

चयन भएका दुई जना सदस्यहरु बिचको विवादका कारण लामो समय देखि अध्यक्ष चयन प्रक्रिया रोकिएको विद्यालय स्रोतले जनाएकाृे छ ।

अध्यक्ष नभएको खण्डमा पनि चयन भएकाहरु मध्येबाट जेष्ठ सदस्यले कामकाज गर्न पाउने व्यवस्था रहेकोले समस्या भने नभएको प्रधानाध्यापक जोशीले बताउनुभयो । यस विषयमा छलफलको लागि मंगलबार बैठक बोलाएको प्रधानाध्यापक जोशीले बताउनुभयो ।

प्रतिक्रिया

भर्खरै प्रकाशित

 

घाइते भेट्न केएमसी पुगे गृहमन्त्री गुरुङ

२०८२ चैत्र २०, शुक्रबार १४:२२ गते

ताजा समाचार

लोकप्रिय

सिफारिस

छुटाउनु भयो कि ?