लटिनाथ आधारभूत विद्यालय बारिलका प्रधानाध्यापक सुरेन्द्र तितराको विदाई

दार्चुला । दार्चुलाको शैल्यशिखर नगरपालिका–१ स्थित लटिनाथ आधारभूत विद्यालय बारिलका प्रधानाध्यापक सुरेन्द्र तितराको सम्मानपूर्वक विदाई गरिएको छ। झन्डै चार दशक शिक्षण सेवामा बिताउनुभएका तितरा उमेरहदका कारण अनिवार्य अवकाशमा जानुभएपछि आइतबार एक कार्यक्रमका बीच उहाँको विदाई गरिएको हो।

वि.सं. २०४५ सालमा अपिहिमाल गाउँपालिकास्थित अपिपथ प्रदर्शक माध्यमिक विद्यालयबाट शिक्षण सेवा सुरु गर्नुभएका तितराले वि.सं. २०५२ साल असोज १ गतेदेखि लटिनाथ आधारभूत विद्यालय बारिलमा अध्यापन सुरु गर्नुभएको थियो। त्यसपछि उहाँले सोही विद्यालयमा निरन्तर सेवा दिँदै आउनुभएको थियो। वि.सं. २०६७ सालदेखि उहाँ विद्यालयको प्रधानाध्यापकको जिम्मेवारीमा रहनुभएको थियो।

तीन दशकभन्दा बढी समय सो विद्यालयमा शिक्षण सेवा दिनुभएका तितराको योगदानको कदर गर्दै विद्यालयले भव्य कार्यक्रमका साथ उहाँको विदाई गरेको विद्यालयका शिक्षक लोकेन्द्र बहादुर खडायतले जानकारी दिनुभयो।

पूर्व विद्यालय व्यवस्थापन समिति अध्यक्ष तथा शैल्यशिखर नगरपालिका–१ का वडा अध्यक्ष भरतबहादुर खडायतको अध्यक्षतामा सम्पन्न कार्यक्रममा शैल्यशिखर नगरपालिकाका प्रमुख विजय सिंह धामी प्रमुख अतिथिका रूपमा सहभागी हुनुहुन्थ्यो। कार्यक्रममा नगर उपप्रमुख शान्ति खडायत, बलाचस्थित सशस्त्र प्रहरी बलको आधार शिविरका प्रमुख प्रहरी नायब उपरीक्षक शंकर सिंह धामी, निमित्त प्रमुख प्रशासकीय अधिकृत भोजराज भट्ट, शिक्षा शाखा प्रमुख बल्देव भट्ट, विद्यालयका शिक्षक–कर्मचारी, विद्यार्थी तथा अभिभावकहरूको उल्लेखनीय सहभागिता रहेको थियो।

कार्यक्रमका अवसरमा अवकाश प्राप्त प्रधानाध्यापक तितराले विद्यालयमा अध्ययनरत विद्यार्थीहरूलाई छात्रवृत्ति प्रदान गर्ने उद्देश्यले ६८ हजार ५ सय ६५ रुपैयाँको अक्षयकोष स्थापना गर्नुभएको जानकारी दिइएको छ।

तीन दशकभन्दा बढी समय शिक्षण सेवामा समर्पित रहनुभएका तितरालाई सम्मानपत्र प्रदान गर्दै अवकाशपछिको जीवन सुखद र सफल रहोस् भन्ने कामनासहित विद्यालयले विदाई गरेको शिक्षक खडायतले बताउनुभयो।

प्रतिक्रिया

Leave a Comment

Your email address will not be published. Required fields are marked *

भर्खरै प्रकाशित

 

घाइते भेट्न केएमसी पुगे गृहमन्त्री गुरुङ

२०८२ चैत्र २०, शुक्रबार १४:२२ गते

ताजा समाचार

लोकप्रिय

सिफारिस

छुटाउनु भयो कि ?