दार्चुला। दार्चुलाको शैल्यशिखर नगरपालिकाले भलिवल खेलाडी नवराज धामीलाई नगसहित सम्मान गरेको छ । शैल्यशिखर-२ स्थाई घर भएका धामीले सुदूरपश्चिम प्रदेश तथा राष्ट्रिय स्तरको भलिवल प्रतियोगितामा सहभागिता जनाई उत्कृष्ट प्रर्दशन गर्दै आउनुभएको छ।
विभिन्न राष्ट्रिय स्तरका खेलकुद प्रतियोगितामाहरुमा उत्कृष्ट प्रर्दशन गर्दै राष्ट्र र जिल्लाको नाम अग्रस्थानमा राख्न योगदान गुर्याएकोमा नगरपालिकाले नगदसहित सम्मान गरेको नगर प्रमुख विजय सिंह धामीले बताउनुभयो । दार्चुलाबाट निर्वाचित प्रतिनिधि सभा सदस्य गणेश सिंह ठगुन्ना, नगर प्रमुख विजय सिंह धामी र प्रमुख प्रशासकीय अधिकृत भोजराज भट्टले सोमबार भलिवल खेलाडी धामीलाई नगद ५० हजार, सम्मानपत्रसहित खादामाला लगाएर सम्मान गर्नुभएको हो ।
शैल्यशिखर नगरपालिकाको वडा नम्बर २ घर भएका धामीले विभिन्न राष्ट्रिय स्तरका प्रतियोगिताहरुमा सुदूरपश्चिम प्रदेश भलिवल टिमको नेतृत्व समेत सम्हाल्नुभएको छ। खेलाडी धामीलाई हौसला प्रदान गर्नका लागि नगरपालिकाको तर्फबाट नगदसहित सम्मानित गरिएको नगरप्रमुख धामीले बताउनुभयो । नगरपालिकाले यस अघि पनि खेलाडी धामीलाई प्रदेशबाट उत्कृष्ट प्रर्दशन गरेकोमा सम्मान गरेको थियो ।
आफ्नो गृह नगरबाट यसरी सम्मानित हुन पाउदा खुसी लागेको खेलाडी धामीको भनाई छ । खेलाडीहरुलाई नगरपालिकाको तर्फबाट प्रोत्साहन गर्ने र खेल क्षेत्रमा अगामी दिनमा लगानी बढाउने नगरप्रमुख धामीले प्रतिवद्धता जनाउनुभयो ।




