दार्चुला । दार्चुलाको मालिकार्जुन गाउँपालिका वडा नम्बर ३ स्थित मालिकार्जुन माध्यमिक विद्यालय, मडमा लामो समयदेखि विद्यालय व्यवस्थापन समिति गठन नहुँदा समस्या उत्पन्न भएको भन्दै अभिभावकहरूले समिति गठन प्रक्रिया छिटो अघि बढाउन माग गरेका छन्।
मंगलबार अभिभावकहरूले विद्यालयका प्रधानाध्यापक नवराज जोशीलाई ज्ञापनपत्र बुझाउँदै दुई दिनभित्र विद्यालय व्यवस्थापन समितिको अध्यक्ष चयन गर्न माग गरेका हुन्। यसअघि आइतबार नेपाल विद्यार्थी संघ ९नेविसंघ० मालिकार्जुन गाउँपालिका समितिले पनि लामो समयदेखि समिति गठन नभएको विषयमा विद्यालयको ध्यानाकर्षण गराएको थियो।
नेविसंघको ज्ञापनपत्र बुझ्दै प्रधानाध्यापक जोशीले मंगलबारका लागि बैठक आह्वान गर्नुभएको थियो। तर, यसअघि मनोनित एक सदस्य बैठकमा उपस्थित नभएपछि बैठक निष्कर्षविहीन रूपमा सकिएको नेविसंघ मालिकार्जुन गाउँपालिका सभापति ललित सिंह धामीले जानकारी दिनुभयो।
अभिभावकहरूले पाँच महिनादेखि विद्यालय व्यवस्थापन समिति गठन नहुनु दुःखद भएको भन्दै चिन्ता व्यक्त गरेका छन्। विद्यालयको शैक्षिक, प्रशासनिक तथा आर्थिक गतिविधिलाई पारदर्शी र प्रभावकारी बनाउन व्यवस्थापन समिति महत्वपूर्ण संरचना भए पनि राजनीतिक खिचातानीका कारण गठन प्रक्रिया अन्योलमा परेको उनीहरूको आरोप छ।
यस अवस्थाले विद्यालयको समग्र व्यवस्थापन, नीति निर्माण तथा निर्णय प्रक्रियामा प्रत्यक्ष प्रभाव परेको भन्दै प्रचलित शिक्षा ऐन तथा नियमावलीअनुसार यथाशीघ्र समिति गठन गर्न माग गरिएको छ।
प्रधानाध्यापक नवराज जोशीका अनुसार समिति गठन प्रक्रिया अघि बढाइएको भए पनि सदस्यहरूबीच सहमति नहुँदा ढिलाइ भएको हो। नियमावलीअनुसार अभिभावकबाट चार जना र तीन जना मनोनित सदस्य चयन भइसके पनि अध्यक्ष चयन हुन सकेको छैन।
विद्यालय स्रोतका अनुसार चयन भएका दुई सदस्यबीचको विवादका कारण अध्यक्ष चयन प्रक्रिया लामो समयदेखि रोकिएको हो। यद्यपि अध्यक्ष चयन नभए पनि जेष्ठ सदस्यबाट कार्य सञ्चालन गर्न सकिने व्यवस्था रहेको प्रधानाध्यापक जोशीले बताउनुभयो।




