दार्चुला । बालिका तथा महिलामाथि हुने यौनहिंसा तथा हत्याका घटना रोक्न माग गर्दै विभिन्न संघसंस्थाहरूले प्रमुख जिल्ला अधिकारीमार्फत सरकारको ध्यानाकर्षण गराएका छन्।
पछिल्लो समय महिला तथा बालिकामाथि हुने यौनजन्य तथा अन्य हिंसाका घटना बढ्दै गएको भन्दै त्यस्ता घटना नियन्त्रण गर्न र दोषीलाई कडा कारबाही गर्न माग गर्दै जिल्लास्थित विभिन्न संघसंस्था र किशोरीहरूले संयुक्त रूपमा ज्ञापनपत्र बुझाएका हुन्।
शुक्रबार जिल्ला प्रशासन कार्यालय दार्चुलामा प्रमुख जिल्ला अधिकारी अनिल पौडेललाई ज्ञापनपत्र बुझाउँदै दार्चुलासहित देशका विभिन्न स्थानमा महिला तथा बालिकामाथि भएका घटनाहरू अत्यन्त गम्भीर र चिन्ताजनक रहेको उल्लेख गरिएको छ।
महिला अधिकारकर्मी गौरी बडालका अनुसार पछिल्लो समय बालिका तथा किशोरीमाथि जघन्य अपराधका घटना बढ्दै गएकाले बालबालिकाको सुरक्षा, संरक्षण र न्याय सुनिश्चित गर्ने राज्यको दायित्वमाथि गम्भीर प्रश्न उठेको छ।
ज्ञापनपत्रमा फागुन महिनामा भएका विभिन्न घटनाहरूको उल्लेख गरिएको छ। फागुन १९ गते कैलालीको धनगढीमा ६ महिनाको शिशुकी आमा ३० वर्षीया सरस्वती अवस्थी जोशीको हत्या, फागुन २४ गते कैलालीकै भजनीमा ३० वर्षीया मानदेवी चौधरीको हत्या तथा फागुन २३ गते सुर्खेतमा १६ वर्षीया किशोरी इनिशा विकको सामूहिक बलात्कारपछि हत्या जस्ता घटनाले समाजमा महिला तथा बालिकाको सुरक्षा कमजोर रहेको देखाएको उल्लेख गरिएको छ।
यसैगरी आर्थिक वर्ष २०८०/०८१ मा २ हजार ५ सय ७ वटा यौनहिंसा सम्बन्धी घटना दर्ता भएको र तीमध्ये ५ जनाको बलात्कारपछि हत्या भएको अभिलेखले पनि महिला तथा बालिका असुरक्षित रहेको पुष्टि गर्ने अधिकारकर्मीहरूको ठहर छ।
उक्त घटनाहरू केवल आपराधिक कार्य मात्र नभई महिला तथा बालिकाको सुरक्षा, स्वतन्त्र रूपमा बाँच्न पाउने अधिकार तथा मानवअधिकारमाथिको गम्भीर उल्लंघन भएको ज्ञापनपत्रमा उल्लेख गरिएको छ।
त्यस्तै, यस्ता जघन्य अपराधमा उमेर घटाउने वा प्रमाण किर्ते गर्ने प्रयास हुने गरेको भन्दै त्यस्ता कार्यमा संलग्नलाई कडा कारबाही गर्न माग गरिएको छ। साथै घटनाको निष्पक्ष र पारदर्शी छानबिन, पीडित परिवारलाई न्याय, सुरक्षा तथा आवश्यक संरक्षण प्रदान गर्न र कानुनी राज्यको अनुभूति गराउनुपर्ने माग गरिएको महिला अधिकारकर्मी बडालले जानकारी दिनुभयो।




