दार्चुला । दार्चुलाको लेकम गाउँपालिकाले प्रश्नपत्र टाइपिङमा त्रुटी गर्ने कर्मचारीहरूलाई जिम्मेवारीबाट हटाएको छ।
चैत २ गतेदेखि सञ्चालन भइरहेको वार्षिक परीक्षा अन्तर्गत कक्षा ५ को पालिकास्तरीय परीक्षामा बिहीबार सञ्चालित विज्ञान तथा प्रविधि विषयको प्रश्नपत्रमा व्यापक त्रुटी देखिएपछि सामाजिक सञ्जालमा चर्को आलोचना भएको थियो। साथै, लापरवाही गर्नेहरूमाथि कारबाही गर्न मागसमेत उठेको थियो।
घटनापछि प्रश्नपत्र टाइपिङमा खटिएका कर्मचारीहरूलाई जिम्मेवारीबाट हटाइएको गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत दीपकराज जोशीले जानकारी दिनुभयो।
त्यस्तै गल्ती टाइप भएका प्रश्नपत्रहरुको प्रुफ रिडिङ गर्दा गल्ती गरेकोमा सम्बन्धित विषयको प्रश्नपत्र निर्माणमा खटिएका शिक्षकलाई स्पष्टीकरण सोध्न लगाइएको, प्राविधिक रुपमा गलत पृन्ट भएका प्रश्नपत्रहरुको भूक्तानी कार्यालयबाट नगरिने निर्णय गरिएको तथा शिक्षा शाखा प्रमुखलाई स्पष्टीकरण सोधिएको प्रमुख प्रशासकीय अधिकृत जोशीले बताउनुभयो।




