दार्चुला । प्रतिनिधि सभा निर्वाचन अन्तर्गत दार्चुलाबाट निर्वाचित प्रतिनिधि सभा सदस्य गणेश सिंह ठगुन्नाले आफ्नो चुनावी खर्च विवरण सार्वजनिक गर्नुभएको छ । ठगुन्नाले निर्वाचनको क्रममा भएको आयव्यय विवरण सार्वजनिक गर्नुभएको हो । सार्वजनिक विवरण अनुसार कुल २१ लाख ८३ हजार खर्च भएकोमा २१ लाख ८४ हजार ६ सय ९५ रुपैयाँ आमदानी भएको उल्लेख गरिएको छ ।
सार्वजनिक विवरण अनुसार ठगुन्नाले खर्च तर्फ धरौटी जम्मा गर्न १० हजार, मतदाता नामावली प्राप्तीमा ३ हजार, साउन्ड सिस्टम खरिदमा ६१ हजार रेडियो तथा अन्य मिडियाहरु मार्फत प्रचारप्रसारमा १ लाख ५० हजार, नमुना मतपत्र छपाईमा १ लाख ८० हजार रुपैयाँ खर्च भएको विवरण सार्वजनिक गर्नुभएको छ ।
त्यस्तै झन्डामा १ लाख, यातायात खर्चतर्फ जुलुसमा ४ लाख, सवारी भाडा २ लाख ८० हजार, परिचालन खर्च ३ लाख पर्चा पम्पलेटमा १ लाख ५० हजार रुपैयाँ खर्च भएको विवरणमा उल्लेख गनुभएको छ ।
त्यस्तै आमादानी तर्फ बैंक खाता मार्फत व्यक्ति तथा संस्थालेहरुले १२ लाख २५ हजार ५ सय रुपैयाँ र नगद रसिद मार्फत ९ लाख ५९ हजार ६ सय रुपैयाँ आमदानी भएको विवरणमा उल्लेख गर्नुभएको छ ।




