दार्चुला । नेपालको भूमि लिपुलेक भञ्ज्याङ हुँदै भारत र चीनले पुनः सीमा व्यापार शुरु गर्ने भएका छन् । त्यसका लागि भारत सरकारले आफ्ना निकायहरूलाई निर्देशन दिएको भारतीय सञ्चारमाध्यमले जनाएका छन् ।
उत्तराखण्डको पिथौरागढ जिल्लाका अधिकारीले सीमा व्यापारका लागि सरकारले निर्देशन दिएको त्यसको तयारीसमेत शुरु भइसकेको बताएका छन् । यो व्यापार आगामी जुन महिनामा शुरु हुने उनले बताएको भारतीय सञ्चारमाध्यमले उल्लेख गरेका छन् ।
भारत र चीनले शुरु गर्न लागेको सीमा व्यापारको क्षेत्र लिपुलेकलाई नेपालले आफ्नो आधिकारिक नक्सामा समावेश गरेको छ । यसअघि यही व्यापार मार्गका विषयमा आफूलाई नसोधी भारत र चीनले सम्झौता गर्दा नेपालले विरोध गरेको थियो ।
२०७२ सालमा भारतीय प्रधानमन्त्री नरेन्द्र मोदी चीन भ्रमणमा गएका वेला दुई देशबीच लिपुलेकलाई व्यापारिक तथा तीर्थयात्री आवतजावत गर्ने केन्द्र बनाउने सहमति भएको थियो । सुशील कोइराला प्रधानमन्त्री रहेको त्यो समयमा परराष्ट्र मन्त्रालयमार्फत तत्कालै नेपालस्थित भारत र चीनका राजदूतलाई विरोध पत्र पठाएर आपत्ति जनाएको थियो ।
पछि केपी शर्मा ओली प्रधानमन्त्री रहेका वेला भारतले २०७६ कात्तिकमा जारी गरेको आफ्नो नयाँ नक्सामा लिपुलेक र कालापानीलाई समावेश गरेको थियो ।
त्यसपछि २०७७ जेठमानेपालले आफ्नो नक्सा संशोधन गरी लिपुलेक, कालापानी र लिम्पियाधुरालाई समेटेर नयाँ नक्सा (चुच्चे) जारी गर्यो । यसलाई संसद्ले पूर्ण बहुमतले पारित गरेको थियो ।
भारतले यो नक्सा स्वीकार गरेको छैन भने चीनले पनि यसबारे आधिकारिक प्रतिक्रिया दिएको छैन ।




