दार्चुला । दार्चुलाको गोकुलेश्वरमा इलाका प्रशासन कार्यालय स्थापना गर्ने विषयमा शुक्रबार अन्तरपालिका बैठक सम्पन्न भएको छ।
बैठकले गोकुलेश्वरमा स्थापना हुने इलाका प्रशासन कार्यालयको कमाण्ड एरियाभित्र पर्ने शैल्यशिखर नगरपालिका, लेकम, मार्मा, अपिहिमाल र नौगाड गाउँपालिकाले सेवाग्राहीको संख्याका आधारमा आवश्यक कार्यालय सामग्री तथा व्यवस्थापकीय खर्चमा समन्यायिक हिसाबले नियमानुसार सहयोग गर्ने निर्णय गरेको छ।
शैल्यशिखर नगरपालिकाका नगरप्रमुख विजय सिंह धामीको अध्यक्षतामा बसेको बैठकमा लेकम गाउँपालिका अध्यक्ष रामदत्त जोशी, मार्मा गाउँपालिका अध्यक्ष जमनसिंह धामी, नौगाड गाउँपालिका अध्यक्ष दलजित सिंह धामी, अपिहिमाल गाउँपालिकाका अध्यक्ष भगत सिंह ठेकेरे, नगर उपप्रमुख शान्ति खडायत, प्रमुख जिल्ला अधिकारी अनिल पौडेल र जिल्लास्थित सुरक्षा निकायका प्रमुखहरू, मालिकार्जुन गाउँपालिका उपाध्यक्ष कल्यान सिंह धामी, शैल्यशिखरका प्रमुख प्रशासकीय अधिकृत भोजराज भट्ट, वडाअध्यक्ष लगायत जनप्रतिनिधि र कर्मचारीको उपस्थिति रहेको थियो।
बैठकले तत्कालका लागि गोकुलेश्वरस्थित नगरपालिकाको कृषि तथा पशु भवनको आशिंक भागलाई अस्थायी रुपमा प्रयोग गरी सेवा प्रवाह सुरु गर्ने व्यवस्था मिलाउन सहजीकरणका लागि अनुरोध गर्ने र व्यवस्थापकीय खर्च सेवा क्षेत्र पर्ने पालिकाहरुबाट व्यवस्थापन गर्ने निर्णय भएको कर्मचारी विष्णुदत्त जोशीले जानकारी दिनुभयो।
यस क्षेत्रमा इलाका प्रशासन कार्यालय स्थापना भएपछि स्थानीय नागरिकहरूले प्रशासनिक सेवाका लागि सदरमुकाम धाउनुपर्ने बाध्यता कम हुने अपेक्षा गरिएको छ।
बैठकमा सहभागी पालिका प्रमुख, अध्यक्षहरू, विभिन्न वडाका अध्यक्ष तथा प्रशासनिक अधिकारीहरूले कार्यालयलाई छिटो सञ्चालनमा ल्याउन आवश्यक प्रशासनिक तथा प्राविधिक पक्षमा समन्वय गरेर अघि बढ्ने प्रतिबद्धता व्यक्त गरेका छन्।




