दार्चुला । नेपालको क्रिकेट टिम ‘ए’ले ओमान, स्कटल्यान्ड र अमेरिकासँग एकदिवसीय खेलहरू खेल्ने भएको छ ।
नेपालमा आयोजना हुने आइसीसी विश्वकप लिग २ का २ शृंखला अगाडि नेपालको ‘ए’ टिमले एकदिवसीय खेलहरू खेल्ने नेपाल क्रिकेट संघ (क्यान)ले जानकारी दिएको छ ।
नेपाल ‘ए’ टिमले माथिल्लो मूलपानी क्रिकेट मैदानमा ओमान, स्कटल्यान्ड र अमेरिकासँग खेल्नेछ । नेपाल ‘ए’ले तीनैवटा टोलीसँग २/२ वटा खेल खेल्ने तालिका सार्वजनिक भएको छ ।
तालिका अनुसार नेपाल ‘ए’ टोलीले पहिलो दुई खेल ओमानसँग खेल्नेछ । अप्रिल २२ र २४ मा नेपाल ‘ए’ले ओमानसँग खेल्नेछ । मे ६ मा नेपाल ‘ए’स्कटल्यान्डसँग र मे ७ मा अमेरिकासँग खेल्नेछ । मे ९ मा नेपाल ‘ए’ले पुनः स्कटल्यान्डसँग र मे ११ मा पुनः अमेरिकासँग खेल्ने गरी तालिका सार्वजनिक भएको हो ।
नेपालको ‘ए’ टोलीले पछिल्लो पटक भारतको आसामसँग टी२० शृंखला खेलेको थियो । त्यसपछि नेपाल ‘ए’ टोलीले कुनै पनि खेल खेलेको थिएन । यो शृंखलाको लागि नेपालको ‘ए’ टोली भने घोषणा हुन बाँकी छ ।




