दार्चुला । देशका अधिकांश स्थानहरूमा केही दिनदेखि तापक्रम बढ्ने क्रममा रहेको छ । जल तथा मौसम विज्ञान विभागले बुधबार (वैशाख ९) देशका तराई क्षेत्रमा तातो दिन/तातो लहरको पूर्वानुमान गरेको छ । साथै, हिमाली र पहाडी भूभागमा चट्याङसहित मध्यमसम्मको वर्षा/हिमपातको सम्भावना रहेको जनाएको छ ।
विभागले मंगलबार साँझ ५:४५ मा गरेको मापनअनुसार, भैरहवाको तापक्रम ४२ डिग्री सेल्सियस र सिमराको ४०.३ डिग्री सेल्सियस छ ।
विभागका अनुसार, आज दिउँसो कोसी, वाग्मती र गण्डकी प्रदेशका हिमाली भूभागमा साधारणतया बादल लाग्नेछ । बाँकी प्रदेशका हिमाली भूभागका साथै कोसी, वागमती, गण्डकी र कर्णाली प्रदेशका पहाडी भूभागमा आंशिक बादल लाग्नेछ र बाँकी भूभागमा मौसम मुख्यतया सफा रहनेछ ।
कोसी प्रदेशको हिमाली र पहाडी भूभागलगायत वाग्मती र गण्डकी प्रदेशका हिमाली भूभागका थोरै स्थानहरूमा मेघगर्जन/चट्याङसहित मध्यमसम्मको वर्षा/हिमपातको सम्भावना रहेको छ ।
विभागले मधेस प्रदेशलगायत वागमती, गण्डकी, लुम्बिनी र सुदूरपश्चिम प्रदेशका तराई साथै उपत्यका र खोँचहरूमा तातो दिन हुने पूर्वानुमान गरेकाे छ । लुम्बिनी र सुदूरपश्चिम प्रदेशका तराई क्षेत्रमा तातो लहरको पनि सम्भावना देखिएको विभागले जनाएको छ ।
राति, कोसी प्रदेशको हिमाली र पहाडी भूभागलगायत वाग्मती र गण्डकी प्रदेशका हिमाली भूभागमा आंशिक बादल लाग्ने र बाँकी हिमाली, पहाडी र तराई भूभागमा मौसम मुख्यतया सफा रहनेछ । कोसी प्रदेशको हिमाली भूभागका एक–दुई स्थानमा हल्का वर्षा/हिमपातको सम्भावना छ ।




