दार्चुला । अन्तर्राष्ट्रिय क्रिकेट काउन्सिल (आईसीसी) विश्वकप लिग–२ अन्तर्गत घरेलु मैदानमा जारी शृंखलाको तेस्रो खेलमा नेपालले शुक्रबार (आज) संयुक्त अरब इमिरेट्स (युएई)को सामना गर्दै छ ।

खेल कीर्तिपुरस्थित त्रिवि क्रिकेट मैदानमा बिहान ९ः३० मा सुरु हुनेछ । नेपालले यूएईसँग हालसम्म २२ खेल खेल्दा ६ जित र १४ हारको नतिजा निकालेको छ । दुई खेल भने रद्द भएको थियो ।

यूएईको सामना गर्दा नेपाललाई जित्नुपर्ने दबाब छ । यो खेल हारेमा नेपाल र यूएईबीच अंक बराबरी हुनेछ । यस्तोमा रन रेटको आधारमा नेपाल पुछारमा पनि झर्न सक्छ । अहिले नेपाल १४ अंकका साथ सातौँ स्थानमा छ । यूएईको १२ अंक छ ।

जारी शृंखलामा नेपाल दोस्रो जितको लक्ष्यमा हुनेछ । पहिलो खेलमा नेपालले एक प्रतिस्पर्धात्मक खेलमा यूएईलाई ३५ रनले पराजित गरेको थियो । वर्षाले प्रभावित दोस्रो खेलमा नेपालले ओमानसँग डीएलएस प्रणालीको आधारमा १०२ रनको हार व्यहोरेको थियो । नेपालसँग पराजित यूएईले दोस्रो खेलमा ओमानविरुद्ध २५ रनको जित निकालेको थियो ।

ओमानविरुद्धको खेलमा मुख्य प्रशिक्षक स्टुअर्ट लले पनि राम्रो रणनीति अपनाउन नसकेको देखिएको थियो । पहिलो प्लेइङ ११ छनोट गर्दा उनीबाट त्रुटि हुन पुगेको क्रिकेट विश्लेषकहरूको भनाइ छ । यूएईविरुद्धको खेलमा भने उनले त्यो गल्ती नदोहोर्‍याउने विश्वास गरिएको छ । क्रिकेट विश्लेषकहरूले ब्याटिङमा अब परिवर्तन गर्न जरुरी भइसकेको बताएका छन् । केही नयाँ अनुहार राष्ट्रिय टोलीमा देखिन सक्ने सम्भावना छ ।

कमजोर ब्याटिङको निरन्तरता
ब्याटिङमा कमजोरी नेपाली क्रिकेट टोलीको परम्परागत समस्या हो । मोन्टी देसाई प्रशिक्षक रहँदा नेपालले ब्याटिङमा आश्चर्यजनक सुधार गर्दै १२ मध्येको ११ खेल जितेर लिग २ मा अनपेक्षित सफलता हात पारेको थियो । जसका कारण समस्यामा रहेको नेपाल शीर्ष ३ मा उक्लिँदै सिधै विश्वकप क्वालिफायरमा छनोट हुन पुगेको थियो ।

नेपाल अहिले मोन्टीको जादु चल्नुअगाडिकै समस्याग्रस्त स्थितिमा छ ।

जारी शृंखलाका दुई खेलमा दीपेन्द्रसिंह ऐरीबाहेक अन्य ब्याटरको प्रदर्शन सम्झनलायक छैन । दीपेन्द्रले यूएईविरुद्ध ७५ र ओमानविरुद्ध ६० रनको इनिङ खेलेका थिए । अन्य ब्याटरलाई भने दोहोरो अंकमा रन जोड्न पनि गाह्रो भइरहेको छ ।

नेपालका अनुभवी बलर सोमपाल कामीले पनि ब्याटिङमा सोचेअनुसारको प्रदर्शन हुन नसकेको स्वीकारेका छन् । ओमानसँगको खेलपछिको पोस्ट म्याच प्रेस कन्फ्रेन्समा उनले भनेका थिए, ‘‘हामीले सोचेअनुसारको प्रदर्शन गर्न सकेनौँ । ब्याटिङ गर्न त्यति सहज भइरहेको छैन । तर, कमब्याक गर्न सक्छौँ भन्ने हामीलाई विश्वास छ । आगामी खेलमा कसरी राम्रो गर्न सकिन्छ भन्नेमा ध्यान दिनेछौँ ।”

‘हेड टु हेड’मा नेपाल अगाडि
एक दिवसीय अन्तर्राष्ट्रिय क्रिकेटको इतिहासलाई हेर्ने हो भने यूएईभन्दा नेपाल बलियो देखिन्छ । हालसम्म नेपाल र यूएईको एक दिवसीय अन्तर्राष्ट्रियमा १८ खेलमा भेट भइसकेको छ । जसमा नेपालले १० खेल आफ्नो पक्षमा पर्दा यूएईले आठ खेल जितेको छ ।

त्रिवि क्रिकेट मैदानको इतिहासलाई हेर्दा पनि नेपाल नै हाबी देखिन्छ । यो मैदानमा हालसम्म भएका सातमध्ये ६ खेलमा नेपाल विजयी भएको छ ।

इतिहासलाई हेर्दा नेपाल बलियो देखिए पनि अहिलेको अवस्थामा नेपालले यूएईलाई सहज रूपमा लिने गल्ती भने गर्नु हुनेछैन ।

प्रतिक्रिया

भर्खरै प्रकाशित

 

घाइते भेट्न केएमसी पुगे गृहमन्त्री गुरुङ

२०८२ चैत्र २०, शुक्रबार १४:२२ गते

ताजा समाचार

लोकप्रिय

सिफारिस

छुटाउनु भयो कि ?