दार्चुला । आइतबार (आज) दिउँसो पानीसँगै आएको हावाहुरीले बैतडीका विभिन्न स्थानमा भौतिक संरचनामा क्षति पुर्‍याएको छ। दिउँसो करिब साढे २ बजेतिर आएको हावाहुरीले दोगडाकेदार गाउँपालिका वडा नम्बर ३ कपडास्थित जसलिङ्ग आधारभूत विद्यालयको भवनको छानो उडाएको प्रहरीले जनाएको छ। जस्तापाताले छाइएको छानो उड्दा विद्यालयभित्र रहेका शैक्षिक सामग्रीमा समेत क्षति पुगेको छ।

विद्यालयको छानो उडाएपछि पठनपाठन कार्य प्रभावित हुने विद्यालय व्यवस्थापन समितिका अध्यक्ष नारायणदत्त कपाडीले जानकारी दिनुभयो । यसैगरी सिगास गाउँपालिका–१ मा हरि भट्टको पसलको छानो हावाहुरीले उडाउँदा पसलभित्र रहेका सामग्रीमा क्षति पुगेको छ।

पाटन नगरपालिका–७ उपल्ला बाटुलामा गजेन्द्र चन्दको घर तथा गोठमा लगाइएको जस्तापाताको छानो समेत हावाहुरीले उडाएको जिल्ला प्रहरी कार्यालय बैतडीले जनाएको छ।

त्यस्तै मेलौली नगरपालिका–९ मा रहेको नेपाल टेलिकमको टावरमा पनि क्षति पुगेको छ। हावाहुरीकै कारण विद्युत संरचनामा क्षति हुँदा जिल्लाका विभिन्न क्षेत्रमा विद्युत सेवा अवरुद्ध भएको नेपाल विद्युत प्राधिकरण बैतडी वितरण केन्द्रले जनाएको छ।

प्राधिकरणका अनुसार डडेल्धुरा र बलाँच जोड्ने ३३ केभी प्रसारण लाइनमा क्षति पुगेपछि विद्युत सेवा अवरुद्ध भएको हो। क्षतिको विवरण संकलन तथा सेवा पुनः सञ्चालनका लागि प्रयास भइरहेको जनाइएको छ।

यस्तै मेलौली नगरपालिका–२ सलेनामा हरि दमाइको जस्तापाताले छाएको घर, दानबहादुर चन्दको तीनतले घर तथा नरबहादुर चन्दको पसलको छानो समेत हावाहुरीले उडाएको छ।
सोही स्थानस्थित धर्मघर माध्यमिक विद्यालयको भवनको छानोमा पनि क्षति पुगेको जिल्ला प्रहरी कार्यालय बैतडीका प्रवक्ता प्रहरी निरीक्षक बल्देव बडूले जानकारी दिनुभयो ।

यसैगरी शिवनाथ गाउँपालिका–१ कुस्मौतघाटस्थित सशस्त्र प्रहरीको बिओपी भवनमा समेत क्षति पुगेको छ। हावाहुरीका कारण सशस्त्र प्रहरीका जवान बस्ने ब्यारेक भवनको छानो उडाएको प्रहरीले जनाएको छ।

हावाहुरीबाट भएको क्षतिको थप विवरण संकलन भइरहेको प्रहरीले जनाएको छ।

प्रतिक्रिया

भर्खरै प्रकाशित

 

घाइते भेट्न केएमसी पुगे गृहमन्त्री गुरुङ

२०८२ चैत्र २०, शुक्रबार १४:२२ गते

ताजा समाचार

लोकप्रिय

सिफारिस

छुटाउनु भयो कि ?