दार्चुला । बैतडीमा एक विद्यालयका प्रधानाध्यापकमाथि कालोमोसो दलिएको घटना बाहिर आएको छ । जिल्लाको शिवनाथ गाउँपालिका–४ पिपलकोट माविका प्रधानाध्यापक दामोदर ओझामाथि कालोमोसो दलिएको हो ।
एक महिलामाथि दुर्व्यवहार गरेको आरोप लगाउँदै बिहीबार दिउँसो ती महिलाका आफन्तले प्रधानाध्यापक ओझामाथि कालोमोसो दल्दै जुत्ताको माला लगाएका हुन् ।
उक्त विद्यालयमा एक जना प्राथमिक तहको शिक्षक लागि आवदेन खुल्ला गरिएको थियो । शिक्षकका लागि आवेदन दिने महिलाले आफूमाथि दुर्व्यवहार भएको आरोप लगाएपछि उक्त घटना भएको बताइएको छ ।
यो बिषयमा विद्यालय व्यवस्थापन समितिका अध्यक्ष भरत साउँदसँग बुझ्दा बिहीबार दिउँसो विद्यालय प्रांगणमै प्रधानाध्यापक ओझामाथि उक्त घटना भएको बताउनुभयो।
विद्यालयमा शिक्षक भर्नाका बिषयमा ती महिलाले आफूलाई राख्नुपर्ने भन्दै प्रधानाध्यापक ओझासँग आर्थिक प्रलोभनको कुरा समेत राखेको अध्यक्ष साउँदले बताउनुभयो । आफूले जुनसुकै हालतमा पनि निष्पक्ष परीक्षा गरेर शिक्षक भर्ना गर्न भनेको अध्यक्ष साउँदको भनाई छ। दुर्व्यवहार भएको भनिएकी ती महिला पहिलो पेपरमै अनुत्तीर्ण भएकी थिइन् । त्यसपछि उनका आफन्तले प्रधानाध्यापक ओझामाथि कालोमोसो दल्ने र जुत्ताको माला लगाउने कार्य गरेका हुन् । अध्यक्ष साउँदले भन्नुभयो, ‘प्रधानाध्यापक ओझामाथि बिहीबार यो घटना भएको हो । मैले महिलाका आफन्तहरुलाई पनि सम्झाएको हुँ । तर उनीहरुले प्रधानाध्यापक ओझामाथि कालोमोसो दलेर जुत्ताको माला लगाएका हुन् । यो घटनामा जो दोषी देखिन्छ, उसलाई कारवाही हुनैपर्छ ।’
प्रधानाध्यापक ओझाले बिहीबार नै पदबाट राजीनामा दिइसकेको बताइएको छ ।
महिला पक्षका आफन्तले भने महिलामाथि दुर्व्यवहार भएकै कारण आक्रोशित भएर कालोमोसो दलेको बताएका छन् ।
महिलामाथि बैशाख १२ गते दुव्र्यवहार भएको भनिए पनि आर्थिक प्रलोभनमा पारी शिक्षक नियुक्ति लिन खोज्ने ति महिला लिखित परीक्षामै उत्तिर्ण नभए पछि शिक्षकमा माथि दुर्व्यवहार भएको एकथरीले आरोप लगाईरहेका छन् ।
यता प्रहरीले प्रधानाध्यापक ओझामाथि कालोमोसो दल्ने र जुत्ताको माला लगाउनेको खोजी कार्य भइरहेको जनाएको छ । उक्त घटनामा संलग्नहरुको खोजीका लागि प्रहरी टोली परिचालन गरिएको र दोषी जो सुकै भएपनि कानुन अनुसार कारवाही हुने जिल्ला प्रहरी कार्यालय बैतडीका प्रवक्ता, प्रहरी निरीक्षक बल्देव बडूले बताउनुभयो । ‘कानुनभन्दा माथि कोही पनि छैन् । यो घटनामा दोषीलाई कानुन अनुसार कारवाही हुन्छ । हामीले घटनाका बिषयमा अनुसन्धान शुरु गरिसकेका छौं ’उहाँले भन्नुभयो ।




