दार्चुला । जल तथा मौसम विज्ञान विभागले यस वर्षको मनसुन अवधिमा देशका अधिकांश स्थानमा सरदरभन्दा कम वर्षा हुने प्रक्षेपण सार्वजनिक गरेको छ । यसैगरी अधिकतम र न्यूनतम तापक्रम सरदरभन्दा बढी हुने विभागले जनाएको छ ।

विभागले आज ललितपुरमा एक कार्यक्रम आयोजना गरी यस वर्षको मनसुनको सम्भावित अवस्थाबारे जानकारी दिएको हो । कार्यक्रममा मौसमविद सुदर्शन हुमागाईंले दिएको जानकारी अनुसार देशका अधिकांश स्थानमा सरदरभन्दा कम वर्षा हुने सम्भावना छ । यद्यपि यो विभिन्न भेगमा फरक–फरक छ ।

कर्णाली प्रदेशका दक्षिणी भूभाग, लुम्बिनी प्रदेशका अधिकांश भूभाग, मधेश प्रदेशका पूर्वी भूभाग र कोशी प्रदेशका दक्षिण भूभागमा सरदर भन्दा कम वर्षा हुने सम्भावना ५५ देखि ६५ प्रतिशतसम्म रहेको विभागको प्रक्षेपण छ ।कर्णाली प्रदेशका उत्तरी भूभाग तथा कोशी प्रदेशका उत्तरी भूभागमा भने सरदर वर्षा हुने सम्भावना छ ।

यसैगरी सुदूरपश्चिम प्रदेशका अधिकांश भूभाग, मधेश प्रदेशका पश्चिमी भूभाग र कोशी प्रदेशका मध्य भूभागमा भने सरदर भन्दा बढी वर्षा हुने सम्भावना ४५ देखि ५५ प्रतिशत छ ।यसैगरी मनसुन अवधिमा अधिकतम र न्यूनतम तापक्रम देशभर सरदर भन्दा बढी हुने सम्भावना ३५ देखि ६५ प्रतिशतसम्म रहेको मौसमविद हुमागाइँले जानकारी दिए ।

यो प्रक्षेपण आगामी १८ जेठदेखि १४ असोजसम्म अवधिको हो ।

प्रतिक्रिया

भर्खरै प्रकाशित

 

घाइते भेट्न केएमसी पुगे गृहमन्त्री गुरुङ

२०८२ चैत्र २०, शुक्रबार १४:२२ गते

ताजा समाचार

लोकप्रिय

सिफारिस

छुटाउनु भयो कि ?