दार्चुला । बैतडीमा एक प्रधानाध्यापकमाथि कालोमोसो दलेर जुत्ताको माला लगाएको आरोपमा चार जना पक्राउ परेका छन् ।

शिवनाथ गाउँपालिका–४ स्थित पिपलकोट माध्यमिक विद्यालय, लोजनीका प्रधानाध्यापक दामोदर ओझामाथि बिहीबार कालोमोसो दल्दै जुत्ताको माला लगाएर दुर्व्यवहार गरिएको थियो । प्रधानाध्यापक ओझाले एक महिलामाथि दुर्व्यवहार गरेको आरोप लगाउँदै महिलाका आफन्तले उक्त कार्य गरेका हुन् ।

घटनाको भिडियो तथा तस्वीर सामाजिक सञ्जालमा सार्वजनिक भएपछि प्रहरीले चासो देखाएको थियो । प्रधानाध्यापकमाथि कालोमोसो दल्ने र जुत्ताको माला लगाउने कार्यमा संलग्न रहेको आरोपमा शुक्रबार चार जनालाई पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय बैतडीका प्रवक्ता प्रहरी निरीक्षक बल्देव बडूले जानकारी दिनुभयो ।

पक्राउ पर्नेमा ३८ वर्षीया तारा महता, उनका श्रीमान प्रेम महता, मोहन महता र शकुन्तला महता रहेका छन् । उनीहरूलाई इलाका प्रहरी कार्यालय मेलौलीबाट खटिएको टोलीले शुक्रबार दिउँसो घरबाटै पक्राउ गरेको प्रहरीले जनाएको छ । हाल उनीहरूलाई अनुसन्धानका लागि जिल्ला प्रहरी कार्यालयको हिरासतमा राखिएको छ ।

प्रहरीका अनुसार घटनामा संलग्नमाथि कानुन बमोजिम कारबाही गरिनेछ । घटनाका क्रममा प्रधानाध्यापक ओझाको घाँटीमा “म अपराधी हुँ” लेखिएको पम्प्लेट समेत झुण्ड्याइएको थियो ।

महता परिवारले वैशाख १२ गते प्रधानाध्यापक ओझाले महिलामाथि दुर्व्यवहार गरेको आरोप लगाउँदै बिहीबार सार्वजनिक रूपमा कालोमोसो दल्नुका साथै जुत्ताको माला लगाएका थिए ।

उक्त घटना पिपलकोट माविमा भइरहेको प्राथमिक तहको शिक्षक भर्नासँग समेत जोडिएको देखिएको छ । विद्यालय व्यवस्थापन समितिका अध्यक्ष भरत साउँदका अनुसार प्राथमिक तहको एक शिक्षक पदका लागि १७ जनाले आवेदन दिएका थिए भने १४ जना परीक्षामा सहभागी भएका थिए । दुर्व्यवहारको आरोप लगाएकी महिला पनि परीक्षामा सहभागी भए पनि अनुत्तीर्ण भएकी थिइन् ।

अध्यक्ष साउँदले शिक्षक भर्नाकै विषयलाई लिएर प्रधानाध्यापकमाथि दुर्व्यवहार गरिएको दाबी गर्नुभएको छ । परीक्षा अघि ती महिलाले प्रधानाध्यापकसँग आर्थिक लेनदेनको विषय समेत उठाएको बुझिएको उहाँको भनाइ छ ।

यता महिलाका परिवारले भने विद्यालयमै बोलाएर प्रधानाध्यापकले दुर्व्यवहार गरेपछि आक्रोशित आफन्तले कालोमोसो दलेको बताएका छन् ।

प्रहरीले घटनाबारे सूक्ष्म अनुसन्धान भइरहेको जनाएको छ । घटनाले व्यापक चासो पाएको भन्दै सबै पक्षबाट अनुसन्धान अगाडि बढाइएको प्रहरी निरीक्षक बडूले बताउनुभयो ।

प्रतिक्रिया

भर्खरै प्रकाशित

 

घाइते भेट्न केएमसी पुगे गृहमन्त्री गुरुङ

२०८२ चैत्र २०, शुक्रबार १४:२२ गते

ताजा समाचार

लोकप्रिय

सिफारिस

छुटाउनु भयो कि ?