दार्चुला । पर्सि सोमबार राति र मंगलबार बिहान सुदूरपश्चिम, मध्य क्षेत्र र पूर्वी भागमा हावाहुरीसहित पानी पर्ने सम्भावना छ ।
मौसमविद् उज्ज्वल उपाध्यायका अनुसार सोमबार राति सुदूरपश्चिम र मंगलबार बिहान काठमाण्डौ उपत्यकालगायत देशका मध्य तथा पूर्वी भागमा हावाहुरीसहितको वर्षाको सम्भावना रहेको छ । आज र भोलि भने देशका केही ठाउँमा छिटपुटदेखि मध्यमसम्मको वर्षाको सम्भावना छ ।
आज हिमाली र पहाडी भागमा साधारणतया बादल लाग्नेछ र तराई भागमा आंशिक बादल लाग्ने जल तथा मौसम पूर्वानुमान महाशाखाले जनाएको छ । कोशी, बागमती र गण्डकी प्रदेशको हिमाली र पहाडी भागका केही ठाउँ तथा बाँकी प्रदेशको पहाडी र हिमाली भागका थोरै ठाउँमा मेघ गर्जन/चट्याङ्गसहित मध्यमसम्मको वर्षा हुने अनुमान छ ।
तराईका एक/दुई ठाउँमा पनि मेघ गर्जन/चट्याङ्गसहित हल्का वर्षाको सम्भावना रहेको छ । अहिले नेपालमा पश्चिमी न्यून चापीय प्रणाली र स्थानीय वायुको साथै नेपालको पूर्वी भाग नजिक तल्लो वायूमण्डलमा रहेको न्यून चापीय क्षेत्रको प्रभाव रहेको छ ।
यसैबीच यस वर्ष मनसुनमा देशका धेरैजसो ठाउँमा सरदरभन्दा कम पानी पर्ने प्रक्षेपण गरिएको छ । जल तथा मौसम विज्ञान विभागले हिजो सार्वजनिक गरेको मनसुन ऋतुको जलवायु आँकलनअनुसार यस वर्ष मनसुनमा सरदरभन्दा कम पानी पर्ने सम्भावना छ ।
त्यस्तै अधिकतम तापक्रम र न्यूनतम तापक्रम पनि देशभर सरदर भन्दा बढी रहने सम्भावना छ । अर्थात् गर्मी धेरै हुने देखिन्छ । जेठ १८ देखि असोज १४ सम्मको चार महिनाको अवधिमा देशका धेरैजसो ठाउँमा सरदर भन्दा कम वर्षा हुने प्रक्षेपणसहित आँकलन सार्वजनिक गरिएको हो ।
नेपालमा जेठ मध्यदेखि असोज मध्यसम्मको अवधिलाई मनसुन अवधि मानिन्छ । यो अवधिमा वर्षभरको झण्डै ८० प्रतिशत पानी पर्छ । मनसुनमा कम वर्षा र गर्मी उच्च हुँदा यसको प्रभाव विशेष गरी कृषि क्षेत्रमा पर्नेछ । कृषिमा हुनसक्ने क्षति घटाउन अहिलेदेखि नै आवश्यक तयारी थाल्न कृषि विज्ञको सुझाव छ ।




