दार्चुलाको दुर्गम व्याँस गाउँपालिका–२ दुम्लिङसम्म पहिलो पटक गाडी पुगेको छ । निर्माणाधीन दार्चुला–टिंकर सडक खण्डअन्तर्गत नेपाली सेनाले सडक स्तरोन्नतिको काम गरिरहेकै क्रममा शनिबार निर्माण सामग्री बोकेका ट्र्याक्टर र जिपहरु दुम्लिङ पुगेका हुन् । नेपाली सेनाले निर्माण गरिरहेको सडकअन्तर्गत तल्लो दुम्लिङ–घट्ट क्षेत्रसम्म गाडी पुगेपछि स्थानीयवासी उत्साहित बनेको स्थानीय जनकसिंह धामीले बताउनुभयो । वर्षौंदेखि सडक पहुँचको प्रतीक्षामा रहेका व्याँस क्षेत्रका नागरिकका लागि यो महत्वपूर्ण उपलब्धि भएको उहाँले बताउनुभयो ।

सडक सञ्चालनसँगै दैनिक उपभोग्य सामग्री ढुवानी, बिरामीको ओसारपसार तथा शिक्षा र अन्य सेवा सुविधामा सहजता आउने अपेक्षा गरिएको छ । नेपाली सेनाले निर्माण गरिरहेको तुसारपानी–तिङ्कर सडकअन्तर्गत शून्य विन्दु तुसारपानीदेखि दुम्लिङसम्मको १२ किलोमिटर सडक निर्माण सम्पन्न गरेपछि यातायात सञ्चालन भएको छ ।

नेपाली सेनाका अनुसार तुसारपानीदेखि तिङ्करसम्म निर्माणाधीन कूल ७९ किलोमिटर सडकअन्तर्गत हालसम्म २२ दशमलव १५ किलोमिटर सडकको ट्रयाक खोल्ने कार्य सम्पन्न भएको छ ।

नेपाल–चीन सीमा क्षेत्रसँग जोडिएको व्याँस क्षेत्र भौगोलिक रूपमा अत्यन्त विकट मानिन्छ । वर्षौंदेखि यहाँका नागरिकले पैदलमार्गको भरमा यात्रा गर्नुपर्ने बाध्यता भोग्दै आएका थिए । सडक विस्तारसँगै स्थानीय बासिन्दाको जीवनस्तरमा सुधार आउने विश्वास गरिएको छ ।

नेपाली सेनाले आर्थिक वर्ष २०७७÷७८ देखि उक्त सडक निर्माण अघि बढाउँदै आएको हो । हिमाली तथा चट्टानी भूभागमा कठिन परिस्थितिका बीच सडक निर्माण भइरहेको सेनाले जनाएको छ । रणनीतिक तथा विकासका दृष्टिले महत्व बोकेको यस सडकले सीमा क्षेत्रका बासिन्दालाई राष्ट्रिय सडक सञ्जालसँग जोड्ने अपेक्षा गरिएको छ ।

टिंकर सडक आयोजनाका आयोजना प्रमुख, प्रमुख सेनानी राजेश कटुवालले बैशाख दोस्रो साता निर्माण क्षेत्रको अनुगमन गर्दै दुम्लिङसम्म केही दिनमै गाडी पुगाउने तयारी रहेको बताउनुभएको थियो ।

यसअघि सेनाले व्याँस गाउँपालिका–३ तुसारपानी हुँदै वडा नम्बर २ का माल, कोठेधार, कल्जु, आतुङती, तम्बाकु र दुम्लिङलगायत क्षेत्रमा सडक ट्र्याक खोल्ने तथा स्तरोन्नतिको काम गरिसकेको छ ।

यस्तै छाङरु–गागा क्षेत्रमा करिब २ हजार ३ सय मिटर सडक ट्र्याक समेत खोलिएको जनाएको छ । ७९ किलोमिटर सडक ट्र्याक खोल्ने जिम्मा पाएको नेपाली सेनाले बजेट अभावका कारण अपेक्षित गतिमा काम गर्न भने सकेको छैन । सामरिक तथा जनजीवनका हिसाबले महत्वपूर्ण मानिएको दार्चुला–टिंकर सडक निर्माणलाई तीव्रता दिन आगामी आर्थिक वर्षमा पर्याप्त बजेट विनियोजन गर्नुपर्ने माग स्थानीय तथा सरोकारवालाले गरेका छन्।

प्रतिक्रिया

भर्खरै प्रकाशित

 

घाइते भेट्न केएमसी पुगे गृहमन्त्री गुरुङ

२०८२ चैत्र २०, शुक्रबार १४:२२ गते

ताजा समाचार

लोकप्रिय

सिफारिस

छुटाउनु भयो कि ?