इरानले पठाएको युद्ध अन्त्य गर्ने प्रस्ताव ट्रम्पद्वारा अस्वीकार

अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले इरानले पठाएको युद्ध अन्त्य सम्बन्धी प्रस्तावलाई पूर्ण रूपमा अस्वीकार गर्नुभएको छ । इरानले अमेरिकी प्रस्तावको जवाफ पाकिस्तानमार्फत पठाइएको भए पनि त्यसले अमेरिका र इजरायलले राखेका मुख्य शर्तहरू स्वीकार नगरेपछि वार्ता थप जटिल बनेको अन्तर्राष्ट्रिय सञ्चारमाध्यमहरूले जनाएका छन् ।

इरानले पठाएको जवाफमा तत्काल युद्धविराम, अमेरिकी नाकाबन्दी हटाउनुपर्ने, इरानमाथि पुनः आक्रमण नगर्ने ग्यारेन्टी, इरानमाथि लगाइएका आर्थिक प्रतिबन्ध अन्त्य, युद्धबाट भएको क्षतिको क्षतिपूर्ति तथा स्ट्रेट अफ हर्मुजमा इरानको सार्वभौमिक अधिकार स्वीकार गर्नुपर्ने माग राखिएको बीबीसीले जनाएको छ । साथै लेबनान र अन्य क्षेत्रमा चलिरहेको सैन्य गतिविधि समेत रोकिनुपर्ने इरानको अडान छ ।

अमेरिकाले यसअघि इरानलाई १४ बुँदे प्रस्ताव पठाएको थियो । त्यो प्रस्तावमा इरानको युरेनियम सम्वद्र्धन कार्यक्रम पूर्ण रूपमा नियन्त्रणमा ल्याउनुपर्ने, उच्च मात्राको सम्वद्र्धित युरेनियम भण्डारण अन्त्य गर्नुपर्ने, अन्तर्राष्ट्रिय निरीक्षण स्वीकार गर्नुपर्ने, स्ट्रेट अफ हर्मुज खुला राख्नुपर्ने, अमेरिकी तथा अन्तर्राष्ट्रिय जहाजमाथिको खतरा हटाउनुपर्ने र क्षेत्रीय सशस्त्र समूहलाई इरानले समर्थन रोक्नुपर्ने मुख्य शर्त राखिएको थियो ।

राष्ट्रपति ट्रम्पले इरानको जवाफले आणविक कार्यक्रमबारे स्पष्ट प्रतिबद्धता नदेखाएको र अमेरिकाको सुरक्षा चासोलाई सम्बोधन नगरेको भन्दै असन्तुष्टि व्यक्त गर्नुभएको छ । ट्रम्पले इरानको जवाफ उपयुक्त नभएको भन्दै अमेरिकाले आवश्यक परे थप कडा कदम चाल्न सक्ने चेतावनी दिनुभएको खबरमा उल्लेख छ ।

पछिल्लो घटनाक्रमले खाडी क्षेत्रमा तनाव अझै बढेको छ । विश्वको महत्वपूर्ण तेल मार्ग मानिने स्ट्रेट अफ हर्मुज क्षेत्रमा इरानले विदेशी जहाजमाथि कारबाही हुन सक्ने चेतावनी दिएको छ भने बेलायत र फ्रान्सले समुद्री सुरक्षा अभियान अघि बढाएका छन् ।

तनाव बढेसँगै अन्तर्राष्ट्रिय तेल बजार प्रभावित भएको छ । अमेरिकी प्रस्ताव अस्वीकार भएपछि कच्चा तेलको मूल्य फेरि बढ्न थालेको र विश्व बजारमा ऊर्जा संकटको चिन्ता बढेको जनाइएको छ । विश्लेषकहरूले दुवै पक्ष आ–आफ्नो अडानमा कायम रहेकाले तत्काल युद्ध अन्त्य हुने सम्भावना कमजोर देखिएको बताएका छन् ।

पाकिस्तान र कतारले मध्यस्थताको प्रयास जारी राखे पनि शान्ति वार्ता अझै अनिश्चित बनेको छ ।

प्रतिक्रिया

Leave a Comment

Your email address will not be published. Required fields are marked *

भर्खरै प्रकाशित

 

घाइते भेट्न केएमसी पुगे गृहमन्त्री गुरुङ

२०८२ चैत्र २०, शुक्रबार १४:२२ गते

ताजा समाचार

लोकप्रिय

सिफारिस

छुटाउनु भयो कि ?